काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउन निकै प्रयास गरे पनि यसपटक उनी दौडबाट पहिले नै बाहिरिएका छन् । ट्रम्पको नामांकन तोकिएको समयसीमापछि प्रस्ताव गरिएकाले मान्य भएन ।
यही अक्टोबर १० मा ओस्लोमा गरिने पुरस्कार घोषणाका निम्ति यसपालि कुल ३३८ जना दाबेदार रहेका जनाइएको छ ।
विजेता छनोट गर्ने नर्वेली नोबेल समितिमा संसद्द्वारा नियुक्त पाँच सदस्य हुन्छन् । उनीमध्ये प्रायः अवकाशप्राप्त राजनीतिज्ञ हुन्छन् । सधैँ यस्तै भने हुँदैन ।
वर्तमान समितिको नेतृत्व अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने संस्था पीईएन इन्टरनेसनलको नर्वेली शाखाका प्रमुखले गरेका छन् । अर्का एक सदस्य शिक्षाविद् हुन् । यी सबै सदस्यलाई नर्वेजियन राजनीतिक दलले मनोनयन गर्छन् । उनीहरूको नियुक्तिले संसद्भित्रको शक्तिको सन्तुलनलाई प्रतिनिधित्व गर्छ ।
स्वीडिस उद्योगपति अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो इच्छापत्रमा उल्लेख गरेअनुसार राष्ट्रबीचको भाइचारालाई प्रोत्साहन गर्न, शान्ति सम्मेलनको स्थापना र प्रवर्द्धनका निम्ति सबैभन्दा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई यो पुरस्कार दिनुपर्छ ।
नोबेल शान्ति पुरस्कारको मनोनयन अधिकार हजारौँ व्यक्तिहरूसँग हुन्छ । यसमा सरकार र संसद्का सदस्य, वर्तमान राष्ट्राध्यक्ष, इतिहास, सामाजिक विज्ञान, कानुन र दर्शनशास्त्रका प्राध्यापक, नोबेल पूर्वविजेता र अरू योग्य व्यक्तिहरू पर्छन् ।
यो वर्ष कुल ३३८ नामांकन प्राप्त भएको थियो । यी नामको पूर्ण सूची ५० वर्षसम्म गोप्य राखिन्छ । केहीले भने आफैँले नाम सार्वजनिक गर्छन् ।
समितिले आफ्नो पहिलो बैठक (फेब्रुअरी)सम्म नयाँ नाम थप्न सक्छ । त्यसपछि सबै नामको समीक्षा गरी छोटो सूची तयार पारिन्छ । प्रत्येक उमेदवारको मूल्यांकन स्थायी सल्लाहकार र विज्ञले गर्छन् । प्रायः महिनामा एकपटक समिति बैठक बस्छ । सामान्यतया निर्णय अगस्ट वा सेप्टेम्बरमा लिइन्छ । सहमतिमा निर्णय नभए मतदान गरिन्छ ।
अन्तिमपटक विरोधस्वरूप सदस्यले राजीनामा दिएको घटना सन् १९९४ मा भएको थियो । त्यति बेला प्यालेस्टाइनी नेता यासिर अराफातलाई इजरायलका शिमोन पेरेज र यित्जाक राबिनसँग संयुक्त रूपमा पुरस्कार दिइएको थियो ।
यो वर्ष सार्वजनिक नाममध्ये अन्तर्राष्ट्रिय फौजदारी अदालत, नेटो, जेलमा रहेका हङकङका कार्यकर्ता चाउ ह्याङ तुङ र क्यानडाली मानवअधिकारकर्मी इर्विन कोटल पनि छन् ।
विज्ञका अनुसार, ट्रम्पले आफ्नो नीतिमा ठूलो परिवर्तन नगरेसम्म पुरस्कार जित्ने सम्भावना न्यून छ । किनभने, समितिले उनलाई विश्वव्यापी व्यवस्थालाई कमजोर पार्ने व्यक्तिका रूपमा हेर्छ ।
यसको सट्टा समितिले मानवीय संस्था, पत्रकार वा संयुक्त राष्ट्रसंघसँग सम्बद्ध निकायलाई छनोट गर्न सक्छ । वा अप्रत्याशित नाम घोषणा गर्न सक्छ ।
सन् २०२४ को नोबेल शान्ति पुरस्कार जापानी आणविक बमपीडितको समूह निहोन हिदाङ्क्योलाई दिइएको थियो । किनभने, परमाणु हतियारको खतरा लामो समयदेखि समितिको प्राथमिक मुद्दा रहँदै आएको छ ।
नोबेल शान्ति पुरस्कारमा स्वर्णपदक, डिप्लोमा, १.१९ मिलियन डलर नगद पुरस्कारसहित विश्वव्यापी मान्यता समावेश हुन्छ ।
ओस्लोस्थित नर्वेजियन नोबेल संस्थानमा समितिका अध्यक्ष जोर्जेन भाट्ने फ्राइडनेसले अक्टोबर १० मा पुरस्कार घोषणा गर्नेछन् । पुरस्कार वितरण समारोह अल्फ्रेड नोबेलको पुण्यतिथिका दिन डिसेम्बर १० मा ओस्लो सिटी हलमा हुनेछ । एनडीटीभीबाट ।