site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमास नेताले भने– ट्रम्पको शान्ति योजनाले प्यालेस्टाइनी जनताको हितलाई बेवास्ता गर्छ

काठमाडौं । हमासका एक वरिष्ठ नेताले गाजाका निम्ति प्रस्तावित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनालाई अस्वीकार गर्ने सम्भावना रहेको बताएका छन् । उक्त योजनाले इजरायलको स्वार्थ पूरा गर्ने तर प्यालेस्टाइनी जनताको हित नहुने उनले जिकिर गरेका छन् ।

ती नेताले हमासले हतियार त्याग्ने र बुझाउने ट्रम्पको योजनाको मुख्य सर्तमा सहमति जनाउने सम्भावना कम रहेको बताए । हमासले गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बलको तैनाथीमा पनि आपत्ति जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार ह्वाइट हाउसमा भएको वार्ताका क्रममा ट्रम्पको योजना स्वीकार गरेका थिए ।

हमासले यसबारे हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । कतारको विदेश मन्त्रालयले हमासले ह्वाइट हाउसको प्रस्तावलाई जिम्मेवार ढंगले अध्ययन गरिरहेको जनाएको छ ।

हमाससँगको वार्ताको जानकारी राख्ने एक वरिष्ठ प्यालेस्टाइनी अधिकारीले बीबीसीलाई बताएअनुसार, यसमा गाजाभित्र र बाहिर रहेका दुवै समूहको नेतृत्व संलग्न छन् ।

यो समूहका गाजास्थित सैन्य कमाण्डर इज अल–दिन अल–हद्दाद प्रस्तावित योजना स्वीकार गर्नुको सट्टा लडाइँ जारी राख्न कटिबद्ध रहेका मानिएको छ । 

गाजाबाहिरका हमासका नेताहरूले हालैका छलफलमा आफूलाई पछाडि पारिएको महसुस गरेका छन् । किनभने, उनीहरूसँग बन्दीमाथि प्रत्यक्ष नियन्त्रण छैन ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्