site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इन्डोनेसियामा विद्यालय भवन भत्कँदा कम्तीमा ९१ विद्यार्थी भग्नावशेषमा पुरिए

काठमाडौं । इन्डोनेसियामा एक इस्लामिक विद्यालय भवन भत्किएको करिब दुई दिनपछि पनि कम्तीमा ९१ विद्यार्थी कंक्रिटको भग्नावशेषमा फसेका समाचार संस्था एपीले जनाएको छ ।

पूर्वी जाभा प्रान्तस्थित शताब्दी पुरानो अल खोजिनी इस्लामिक आवासीय विद्यालयको प्रार्थना हल सोमबार दिउँसो भत्किएको समयमा त्यहाँ सयौँ मानिस प्रार्थना गरिरहेका थिए । उक्त दुर्घटनापछि बुधबार बिहानसम्म ३०० भन्दा बढी उद्धारकर्मी जीवित रहेका मानिसको उद्धार गर्ने प्रयासमा संलग्न थिए ।

भग्नावशेषमुनि कम्तीमा ६ बालबालिका जीवित रहेका पत्ता लागेको छ । तर, कंक्रिटका स्ल्याब र भवनका अरू भारी भागका कारण खोजीकार्य कठिन बनेको छ । भारी उपकरण उपलब्ध भए पनि थप भत्कन सक्ने आशंकाले यसको प्रयोग रोकिएको छ ।

उद्धारकर्मीले साँघुरो दरार प्रयोग गरेर फसेकालाई अक्सिजन, पानी र खाना पुर्‍याइरहेका छन् । फसेका विद्यार्थी प्रायः १२ देखि १८ वर्ष उमेर समूहका सातदेखि १२ कक्षासम्मका छात्र हुन् । जीवित रहेकाले बताएअनुसार, छात्राहरू भवनको अर्को भागमा प्रार्थना गरिरहेका थिए । उनीहरू भाग्न सफल भए ।

अधिकारीहरूका अनुसार, प्रार्थना हल पहिले दुईतले मात्र थियो । अनुमतिबिना नै थप दुई तला निर्माण गरिँदै थियो । प्रहरीले नयाँ थपिएका दुई तलाको कंक्रिटलाई पुरानो जगले धान्न नसकेको र भवन भत्किएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्