काठमाडौं । कतार, इजिप्ट र टर्कीले हमासलाई गाजाको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिन आग्रह गरिरहेका छन् । वार्ताको जानकारी राख्ने दुई स्रोतले यस्तो बताएका हुन् ।
यी तीन देश हमाससँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने प्रमुख मध्यस्थकर्ता हुन् । उनीहरूको मुख्य जिम्मेवारी हमास, इजरायल र अमेरिकाबीच सन्देशको आदानप्रदान गर्नु हो । यी देशका शीर्ष अधिकारीले पछिल्लो २४ घण्टाभित्र हमास नेतासँग दुईपटक भेट गरेका छन् ।
ट्रम्पले मंगलबार आफ्नो प्रस्तावको जवाफ दिन हमासलाई तीनदेखि चार दिनको समय दिइरहेको बताए ।
अमेरिकी र इजरायली अधिकारीले हमासले ट्रम्पको प्रस्तावमा केही फरक मतसहित सकारात्मक जवाफ दिने अपेक्षा गरेका छन् ।
स्रोतका अनुसार, सोमबार राति ट्रम्पले विश्वसामु आफ्नो योजना प्रस्तुत गरिरहँदा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानी र इजिप्टका गुप्तचर प्रमुख हसन रशादले दोहामा हमास नेतासँग भेटेर त्यो योजना प्रस्तुत गर्दै थिए ।
उनीहरू दुवैले हमासलाई योजना स्वीकार गर्न आग्रह गरे । अल–थानीले हमास नेतालाई यो नै उनीहरूले पाउन सक्ने सबैभन्दा राम्रो सम्झौता भएको र अर्को उत्कृष्ट अवसर नआउने चेतावनी दिएका थिए ।
स्रोतका अनुसार, हमास नेताले अल–थानीलाई असल नियतका साथ प्रस्ताव अध्ययन गर्ने बताएका थिए ।
अल–थानी र रशादले मंगलबार दोहामा हमास नेतासँग पुनः भेट गरे । यसपटक उनीहरूसँग टर्कीका गुप्तचर निर्देशक इब्राहिम कालिन पनि सहभागी थिए ।