site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा सात वर्षपछि सरकारको कामकारबाही बन्द, के हो ‘सटडाउन’ र यसको असर ?

काठमाडौं । अमेरिकी सरकारको कामकारबाही बन्द भएको छ । अमेरिकाका रिपब्लिकन सांसदहरूले नोभेम्बर २१ सम्म सरकारलाई अल्पकालीन रूपमा कोष (फन्ड) उपलब्ध गराउन एक विधेयक पेस गरेका थिए, तर त्यो पनि पारित हुन सकेन । 

डेमोक्रेट सांसदहरूले यो बिलको विरोध गरे । जसपश्चात ट्रम्प सरकारको दोस्रो कार्यकालमा पहिलो पटक सरकारी फन्डिङ रोकियो र सटडाउन भयो ।

मंगलबार साँझ फन्डिङ बिलमा मतदान भएको थियो । जुन ५५–४५ को अन्तरले पारित हुन सकेन । सत्ताधारी रिपब्लिकन पार्टीलाई विधेयक पारित गराउन कम्तीमा पनि ६० मतको आवश्यकता थियो ।

सटडाउन के हो ?
अमेरिकामा आर्थिक वर्षको सुरुआत अक्टोबर १ बाट हुन्छ । आर्थिक वर्षको सुरुआतमा सरकारले बजेट बनाउँछ र सरकारी पैसा कहाँ खर्च गरिनेछ भनेर तय गर्छ । यदि तोकिएको मितिसम्म अमेरिकी संसद्ले संघीय सरकारलाई कोष उपलब्ध गराउने बिल (फन्डिङ बिल) पास गर्न नसकेमा सरकारको कामकारबाही बन्द हुन्छ । 

अमेरिकी राजनीतिमा बजेटमा यस प्रकारको तनाव सामान्य मानिन्छ र पहिले पनि धेरै पटक अमेरिकी सरकारको कामकारबाही फन्डिङ विधेयक पारित नभएका कारण रोकिएको छ ।

विवादको मुख्य कारण के हो ? सटडाउनको असर के हुन्छ ?
राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले संघीय सरकारको खर्चहरूमा कटौती गरिरहेको छ । पछिल्ला महिनाहरूमा संघीय खर्च कम गर्नका लागि यस्ता धेरै कदमहरू चालिएका छन् । यद्यपि, ओबामा हेल्थ केयर सब्सिडी कार्यक्रमलाई लिएर सत्ताधारी रिपब्लिकन पार्टी र विपक्षी डेमोक्रेट पार्टीबीच विवाद उत्पन्न भयो । 

विपक्षी डेमोक्रेट सांसदहरू ओबामा हेल्थ केयर सब्सिडी बढाउन चाहन्छन्, तर रिपब्लिकन पार्टी त्यसका लागि तयार छैन । यही कारणले गर्दा फन्डिङ बिलमा सहमति बन्न सकेन । सटडाउन रोक्नका लागि सरकार र विपक्षबीच वार्ता भए पनि कुनै सहमति भएन ।

अमेरिकामा सटडाउन हुनुको अर्थ सरकारसँग खर्चका लागि पैसा छैन । यसबाट सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर सम्पूर्ण सरकारी खर्चहरू रोकिन्छन् । अमेरिकी सरकारका आपतकालीन सेवाहरू जस्तै मेडिकल (स्वास्थ्य), सीमा सुरक्षा र हवाई सेवाहरूलाई छोडेर अन्य सेवाहरू अवरुद्ध हुन सक्छन् ।

पछिल्लो ५० वर्षमा अमेरिकामा २० पटक सटडाउन भएको छ । सन् २०१८ मा सबैभन्दा बढी ३५ दिनसम्म सटडाउन भएको थियो ।

सटडाउनका कारण करिब साढे सात लाख संघीय कर्मचारीहरूले तलबबिना काम गर्नुपर्नेछ । जसले गर्दा धेरै आवश्यक सेवाहरू प्रभावित हुनेछन् । सटडाउनका कारण अमेरिकी सरकारका खाद्य सहायतासम्बन्धी कार्यक्रम, संघीय सहायताबाट चल्ने विद्यालयहरू, विद्यार्थी ऋण, राष्ट्रिय निकुञ्जहरू आदि बन्द हुनेछन् ।

सटडाउनको असर अमेरिकी अर्थव्यवस्थामा पनि पर्नेछ र जानकारहरूको के अनुमान छ भने यसका कारण अमेरिकी आर्थिक विकास दरमा प्रत्येक हप्ता ०.१ देखि ०.२ प्रतिशतसम्मको गिरावट आउन सक्छ ।

अमेरिकाको कंग्रेसनल रिसर्च सर्भिसको तथ्यांकअनुसार, अन्तिम पटक डिसेम्बर २०१८ मा ३५ दिनका लागि सटडाउन भएको थियो ।

त्यस्तै, जनवरी र त्यसपछि फेब्रुअरी २०१८ मा पनि क्रमशः तीन दिन र एक दिनका लागि शटडाउन भएको थियो ।

सन् २०१८ मा कुल तीनपटक अमेरिकामा सरकारी कामकारबाही बन्द भएको थियो । सन् २०१८ भन्दा पहिले २०१३, १९९५ मा दुई पटक, १९९० मा र १९८७ मा पनि सटडाउन भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्