site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय सैनिक नेतृत्वको वक्तव्यपछि पाकिस्तानले दियो चेतावनी

काठमाडौं । पाकिस्तानको सेनाले भारतीय नेतृत्वबाट आएका उत्तेजक वक्तव्यहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै चेतावनी दिएको छ । परमाणु शक्तिसम्पन्न दुई प्रतिद्वन्द्वीहरूबीचको अर्को द्वन्द्वले विनाशकारी विध्वंस निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

पाकिस्तानको यो वक्तव्य भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले दिएको चेतावनीको एक दिनपछि आएको हो । सेना प्रमुख द्विवेदीले इस्लामाबादलाई चेतावनी दिँदै अर्को पटक भारतीय सेनाले कुनै पनि संयम नदेखाउने र पाकिस्तानले यदि विश्व मानचित्रमा आफ्नो स्थान कायम राख्न चाहन्छ भने उसले आतंकवादलाई समर्थन दिन बन्द गर्नुपर्ने भनेका थिए ।

यसअघि, भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार पाकिस्तानले ‘सर क्रिक’ क्षेत्रमा कुनै पनि दुस्साहस गरेमा त्यसको बलियो र निर्णायक जवाफ दिइने तथा त्यसले इतिहास र भूगोल दुवै बदल्न सक्ने बताएका थिए ।

सर क्रिक भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तबीच फैलिएको ९६ किलोमिटर लामो विवादित ‘टाइडल इस्चुअरी’ हो ।

पाकिस्तानी सेनाले एक वक्तव्यमा भन्यो, “हामीले भारतीय सुरक्षा निकायको उच्चतम तहबाट आउने भ्रमपूर्ण, उत्तेजक र अति–राष्ट्रवादी वक्तव्यहरूलाई गम्भीर चिन्ताका साथ लिएका छौँ ।”

वक्तव्यमा उत्तेजक वक्तव्यहरूको सामना गर्दै भविष्यको द्वन्द्वले विनाशकारी विध्वंस निम्त्याउन सक्ने चेतावनी दिइएको छ । “यदि, फेरि शत्रुताको नयाँ श्रृंखला सुरु भयो भने पाकिस्तान पछि हट्ने छैन । हामी कुनै हिचकिचाहट वा संयमबिना दृढतापूर्वक जवाफ दिनेछौँ,” वक्तव्यमा भनिएको छ । 

वक्तव्यमा पाकिस्तानसँग शत्रुको इलाकाको हरेक कुना–कुनासम्म युद्ध लैजाने क्षमता र संकल्प रहेको उल्लेख गरिएको छ । “यस पटक हामी भौगोलिक प्रतिरोधात्मकताको मिथकलाई चकनाचुर पार्दै भारतीय क्षेत्रको सबैभन्दा टाढासम्म प्रहार गर्नेछौँ,” उनले भने । 

यसवर्षको मे महिनामा भारत र पाकिस्तानबीचको चार दिने लडाइँ भारत शासित कश्मीरको पहलगाम पर्यटक स्थलमा अप्रिल २२ मा भएको आक्रमणबाट सुरु भएको थियो ।

नयाँ दिल्लीले उक्त आक्रमणको दोष इस्लामाबादमाथि लगाएको थियो, जसले जिम्मेवारी अस्वीकार गर्दै तटस्थ अनुसन्धानको माग गरेको थियो ।

तर, भारतले ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सुरु गर्‍यो, जसले पाकिस्तानका विभिन्न स्थानहरूलाई निशाना बनायो । त्यसपछि पाकिस्तानले ‘अपरेसन बुनियानुन मर्सुस’मार्फत जवाफी कारबाही गरेको थियो ।

चार दिनसम्म हवाई आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १० मा युद्धविरामको घोषणा गरेका थिए । टीआरटी वर्ल्ड

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्