site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपद् प्राधिकरणमा सुदन गुरुङको उपस्थितिले मच्चाएको तरङ्ग : गृहमन्त्रीको आदेशको दाबी

काठमाडौं । जेनजी आन्दोलन विवादमा तानिएको गैरसरकारी संस्था ‘हामी नेपाल’ नामक इन्स्टाग्राम अकाउन्टबाट एउटा भिडियो सार्वजनिक भयो, त्यसले तरङ्ग नै पैदा गरेको छ ।

जहाँ ‘हामी नेपाल’का अध्यक्ष सुदन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहितका सरकारी अधिकारीहरूलाई विपद्को समयमा कसरी काम गर्नुपर्छ भन्ने सुझाव मात्र दिइरहेका छैनन् कि प्रश्न पनि गर्दै छन्, “तपाईंहरूको तयारी के छ ?” 

भिडियोमा उनले विपद् व्यवस्थापनका लागि भन्न नहुने केही पनि भनेका छैनन् । तर उनले गृहका अधिकारीहरूमाथि कुन हैसियतमा निर्देशन दिँदै  प्रश्न सोधिरहेका हुन् भन्ने प्रश्न उठेको छ । 

सामाजिक सञ्जालदेखि मिडियासम्म प्रश्न उब्जिएको छ, ‘‘उनी कुन सरकारी पद र हैसियतमा छन्, जसले उनलाई सरकारी अधिकारीहरूलाई निर्देशन दिने अधिकार छ ?’’

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उनलाई प्राधिकरणका अधिकारीहरूले आमन्त्रण गरेका थिएनन् । उनी आफैँ प्राधिकरणको कार्यालयमा पुगेका थिए ।

उनले कार्यकारी प्रमुख दिनेश भट्ट सोधेका थिए, “म सुदन गुरुङ, ‘हामी नेपाल’को अध्यक्ष’ भित्र आउन मिल्छ ?’

त्यसरी आग्रह गर्दा भट्टले उनलाई सहज रूपमा प्रवेश दिएका थिए । उनले कार्यालयमै पुगेर अनुमति मागेको र सहज रूपमा प्रवेश दिनुले कतैबाट सिफारिस लिएर आएको प्रष्ट हुने प्राधिकरणका अधिकारीको भनाइ छ ।

“उहाँ हाम्रो कुनै निमन्त्रणा पाएर यहाँ आउनुभएको होइन । त्यसरी आउन औपचारिक निमन्त्रण दिएको मेरो जानकारीमा छैन,” प्रवक्ता महतले बाह्रखरीसँग भनिन्, “उहाँ कार्यालयमै आउनुभएको हुँदा कतैबाट सिफारिस भएर नै आउनुभएको हुनसक्छ ।”

प्राधिकरणमा उपस्थितिबारे ‘हामी नेपाल’का अध्यक्ष गुरुङले गृहमन्त्रीकै अनुमतिले पुगेको बताए । विपद्को अवस्थामा आफूसँग भएको अनुभव र प्रविधिबारे जानकारी गराएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले नै त्यहाँ पठाएको उनले जानकारी दिए ।

“विपद्को अवस्था आएपछि गृहमन्त्रीसँग फोन गरेर एनडीआरआरएमएको सीईओलाई भनेर त्यहाँ गएका हौं । विगतमा पनि यस्तो हुन्थ्यो । यसपटक जनताको सरकार भएकाले पनि हामीले त्यो अवसर पाएका हौं,” गुरुङले बाह्रखरीसँग भने, “त्यहाँ भिडियोमा मैले के नहुने कुरा बोलेको छु ? जनतालाई राहत पुगोस् भनेर म त्यहाँ गएको हुँ । मिडियाले हरियो रुखलाई पहेँलो छ भन्ने प्रयास गरे ।”

उनले पूर्वसचिव र सचिवहरूले पनि आफ्नो मनोमानी नचल्ने भयो भनी असन्तुष्टि जनाएको टिप्पणी गरे । विपद् व्यवस्थापनमा सरकार एक्लैले काम गर्न नसक्ने दाबी गर्दै पूर्वसचिवहरूले गरेको टिप्पणी पनि ‘आफ्नो मनोमानी नचल्ने भयो’ भन्ने मनोविज्ञानबाट आएको बताए ।

“यसमा सचिवदेखि पूर्वसचिवसम्मलाई पोल्नुको कारण भनेको उनीहरूले आनन्दसहित अल्छी भएर काम गर्न पाएको, नयाँ परिवर्तन देख्न नसकेको जस्तो लाग्छ मलाई,” उनले बाह्रखरीसँग भने, “हामीले अर्थमन्त्रालय यसमा गएर चलखेल गरेको होइन । विपद्को समयमा त हरेकसँग जोडिनुपर्छ । नेपाल सरकारले मात्र त धान्न सक्दैन नि त !”

उनले आफूले भूकम्पको समयदेखि विपद् व्यवस्थापनमा काम गरेको, टर्की भूकम्पमा राहत सामग्री लिएर टर्की पुगेको, रोसी बाढीमा डेढ महिना काम गरेको, नेपालमै पहिलोपटक ड्रोनमार्फत राहत बाँडेको, जाजरकोट भूकम्पमा डेढ महिना काम गरेको तथा कोभिड महामारीमा वीर अस्पतालको नयाँ भवन डोनेशनमा बेड दिएर आफ्नो टिमले नै सेटअप गरेको दाबी गरे ।

“कोभिड युनिफाइड अस्पताल निर्माणमा काम गरेका हौं । वीर अस्पतालको नयाँ भवनको सेटअप सबै हामीले तयार पारेको हो, हामीले नै डोनेशन दिएर सेटअप गरिएको हो,” उनले भने, “हाम्रो इन्स्टाग्राम भिडियोमा पनि हेर्न सक्नुहुन्छ ।”

एनडीआरआरएमएका एक उच्च अधिकारीका अनुसार, सुदन सहभागी बैठक औपचारिक थिएन । कार्यकारी प्रमुख भट्टले सेना र सशस्त्रलाई आ–आफ्ना ठाउँबाट परिचालित हुन निर्देशन दिइरहेका थिए । 

कार्यालयका सम्बन्धित अधिकारीहरू कन्ट्रोल रिपोर्टिङमा काम गरिरहेका थिए । त्यसैबेला “आउन मिल्छ ?” भन्दै टिमसहित पुगेका सुदनलाई भट्टले नै प्रवेश दिएका थिए ।

ती अधिकारीका अनुसार, अनौपचारिक सुझाव पनि सुदन आफैँले नै भिडियो खिचेर सार्वजनिक गरेका कारण मात्र विवादित भएको हो ।

“शनिबार कुनै औपचारिक बैठक थिएन । उहाँहरू आउनुभयो । गृहमन्त्रीकै आदेश लिएर आउनुभएकाले सुझाव सुन्न रोक्नुपर्ने कारण थिएन,” ती अधिकारीले भने, “सुझाव त व्यवहारिक र उपयोगी भए मात्र कार्यान्वयन गर्ने हो । खालि उहाँले भिडियो खिचेर सार्वजनिक गरेका कारण मात्र समस्या भएको हो ।”

सुदनले भने आफूले हालेको भिडियोमा कुनै गल्ती नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीलाई पनि प्रश्न सोध्न पाउनुपर्ने भन्दै विपद् प्राधिकरणका सीईओलाई प्रश्न गर्न पाउने आफ्नो अधिकार नै भएको बताए ।

“विपद् मा सहयोग गर्ने हो । राम्रोसँग काम गरेको छैन भने प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्छ, एनडीआरआरएमएका प्रमुखलाई प्रश्न गर्नु कुन ठूलो कुरा भयो ?” उनले थप प्रश्न गरे, “मैले भिडियोमा व्यक्तिगत फाइदा लिने के कुरा भनेको छु ? आफ्नो अनुभव र आफूसँग भएको प्रविधिको प्रयोग गरौं, सहयोग गर्छु भन्नु अपराध हो ?” 

सुदनले ‘हामी नेपाल’सँग ३५ किलो भार बोक्न सक्ने ड्रोन रहेको, विपद् जोखिम क्षेत्रको म्यापिङ गर्न सक्ने आइटी टिम रहेको र कतिपय डाटा पनि रहेको बताए ।

गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिसकेका र प्रशासनविद् समेत रहेका लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली सुदनको प्रवेश र निर्देशनात्मक शैली अराजकताको नमूना ठान्छन् ।

मैनालीका अनुसार, त्यसरी प्रवेश भएर निर्देशन दिने अधिकार ‘हामी नेपाल’ जस्ता संस्थालाई दिने हो भने त्यसले अराजकता निम्त्याउँदै कामै गर्न नसक्ने अवस्था ल्याउँछ ।

“हिजो ‘हामी नेपाल’लाई दिएजस्तो यस क्षेत्रमा काम गरेका गैरसरकारी संस्थालाई प्रवेश गराउने हो भने भोलि त्यहाँका अधिकारीहरूले कस–कसका कुरा सुन्ने ? के विपद् मा सबैले विज्ञता प्रस्तुत गर्न प्राधिकरणमा प्रवेश मागे भने दिन सकिन्छ ?” मैनालीले भने ।

मैनालीको विश्लेषणमा, “उहाँहरूले बनाएको सरकार हो भने प्रधानमन्त्री वा गृहमन्त्रीमार्फत आफ्ना सुझाव लागू गर्न सकिन्छ । काम गर्ने टिमलाई नै निर्देशन दिन पुग्नु अराजकता हो ।”

सुदनको प्रस्तुतिले अब ‘हामी नेपाल’ जस्ता गैसरकारी संस्थालाई त्यसैगरी निर्देशन दिन र प्रश्न गर्न दिने कि नदिने भन्ने प्रश्न उठेको बताए । त्यस्तो उपस्थिति सम्भव नहुने उनको तर्क छ ।

पार्टीले नै सरकार चलाउने कम्युनिष्ट मुलुकमा समेत सरकारी अधिकारीलाई अनौपचारिक संयन्त्रले हस्तक्षेप नगर्ने अभ्यास रहेको उनले जानकारी दिए ।

“जस्तो कम्युनिष्ट मुलुकमा सरकारको नियन्त्रण नै पार्टीमा रहन्छ । त्यस्तो व्यवस्थामा पनि सरकारी र पार्टीका समानान्तर संरचना बनाइन्छ,” मैनालीले भने, “त्यहाँ पनि अनौपचारिक संरचनाले आफ्नै ढंगले काम गर्छन्, तर सरकारी संयन्त्रलाई भने औपचारिक संयन्त्रमार्फत काम लगाइन्छ ।”

मैनालीका अनुसार, गैरसरकारी संस्थालाई पनि विपद् व्यवस्थापनमा सहभागी गराउने अभ्यास रहेको भन्दै त्यस्ता संस्थासँग सुझाव लिएर काम गर्न औपचारिक संरचना बनाउन सकिने सुझाव दिए ।

“गैरसरकारी संस्थाहरूलाई काममा खटाउने व्यवस्था रहेकाले उनीहरू संलग्न रहेको एडभाइजरी कमिटी बनाउन सकिन्छ,” उनले भने, “तर, विना कुनै संरचना र औपचारिकता कुनै संस्थाले निर्देशन दिने काम अराजकता हो । ‘हामी नेपाल’ जस्ता अन्य पार्टीले पनि निर्देशन दिन थाले भने कसरी काम गर्ने ? यदि नदिने हो भने उनीहरूलाई किन नदिने भन्ने प्रश्न उठ्छ ।”
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्