काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामा प्रश्न उठाएको छ । बारले मंगलबार विज्ञप्ति जारी गरेर अध्यक्ष कार्कीले राखेको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच नआउने विश्वसनीय प्रत्याभूति नभएको बताएको छ ।
बारले यही अवस्था कायम रहे आयोग औपचारिकतामा मात्र सीमित हुने र आयोगको प्रतिवेदनले विश्वसनीयता गुमाउने जोखिम रहेको बताएको छ ।
"गत भदौ २३ गते भएको जेनजीको आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाटसमेतको घटनाउपर छानबिन गर्न गठित आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन," बारको विज्ञप्तिमा भनिएको छ ।
आयोगको अध्यक्षमा नियुक्त हुनुअघि कार्कीले सामाजिक सञ्जाल 'एक्स'मार्फत तत्कालीन र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई तत्काल पक्राउ गरी जेल हाल्नुपर्ने धारणा राखेका थिए । उनले उनीहरूलाई भाग्न नदिन पासपोर्ट रोक्का गर्ने र सीमा नाकामा निगरानी बढाउनुपर्नेसमेत बताएका थिए ।
आयोगको अध्यक्ष नबन्दै कार्कीले उनीहरूलाई पक्राउका लागि आयोगको प्रतिवेदन कुर्न नहुनेसमेत बताएका थिए । त्यही धारणासहित उनले आलेखसमेत लेखेका थिए । उनको धारणालाई लिएर कानुन व्यवसायीसहित नागरिक अगुवाहरूले प्रश्न उठाएका छन् ।