site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा एयर ट्राफिक कन्ट्रोलरबिना विमान उडाउँदै पाइलट

काठमाडौं । अमेरिकामा मंगलबार लगातार दोस्रो दिन पनि उडानहरूमा ढिलाइ भएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेसनले अमेरिकामा सरकारी कामकाज बन्द (गभर्नमेन्ट सटडाउन)का कारण उत्पन्न कर्मचारी अभावले देशभर सञ्चालनमा अवरोध पुगेको बताएको छ । 

सातौँ दिनमा पुगेको सटडाउनले देशभरका यात्रुलाई असर गर्दै व्यापक ढिलाइ र उडान रद्द हुन थालेको बताइएको छ ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसनले एयर ट्राफिक कन्ट्रोलरहरूको अभावका कारण बोस्टन, फिलाडेल्फिया, न्याशभिल, ह्युस्टन, शिकागो र लसभेगासलगायत विमानस्थलहरूमा उडान ढिलाइ भएको जनाएको छ ।

यो अवरोध कन्ट्रोलरहरूले सटडाउनको बीचमा तलबबिना काम गरेको पहिलो दिन डेनभर, फिनिक्स, बब्र्याङ्क र नेवार्कमा देखिएको सुस्ततापछि आएको हो ।

उडान ट्रयाकर फ्लाइटअवेयरका अनुसार घरेलु र अन्तर्राष्ट्रिय उडान ढिलाइको संख्या तीव्र रूपमा बढेको छ । सोमबार ६ हजारभन्दा बढी उडान ढिलाइ भएको रिपोर्ट भएको थियो । तर, शनिबार यो संख्या करिब तीन हजार थियो ।

मंगलबार बिहानसम्म अमेरिकाभित्र, आउने वा बाहिर जाने एक हजारभन्दा बढी उडानहरूमा ढिलो भएको रेकर्ड गरिएको थियो । एनबीसी न्युजका अनुसार, फेडरल एभिएसन एडमिनिस्ट्रेसनले कन्ट्रोलर अभावको सामना गरिरहेका विमानस्थलहरूमा उडान सीमित गर्न मंगलबार ‘स्टाफिङ ट्रिगर’ लागु गरेको थिएन ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसनको सञ्चालन योजनाहरू अनुसार ह्युस्टन, नेवार्क र लसभेगास, बोस्टन, एटलान्टा, फिलाडेल्फिया र डलासका लागि उडान अवतरण तथा प्रस्थान सुविधामा मंगलबार साँझ कम्तीमा केही भागमा कन्ट्रोलर अभाव हुने बताइएको छ । 

शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति नौ घण्टासम्म एयर ट्राफिक कन्ट्रोलरहरूको घटाइएको संख्यामा काम हुनेछ ।

देशका सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एक ओहारेले दैनिक एक हजारभन्दा बढी उडानहरू ह्यान्डल गर्छ । सीएनएनका अनुसार त्यहाँ साँझका प्रस्थानका लागि औसत ४१ मिनेटको ग्राउन्ड ढिलाइ अनुभव गरिएको थियो ।

न्यासभिलमा विमानहरूलाई भित्र र बाहिर मार्गदर्शन गर्ने जिम्मेवारी पाएको विमानस्थलको एप्रोच सुविधा मंगलबार राति पाँच घण्टा बन्द गरिएको थियो ।

न्यासभिलका लागि निर्धारित उडानहरूले मेम्फिसस्थित क्षेत्रीय एयर ट्राफिक कन्ट्रोल सेन्टरसँग समन्वय गर्नुपर्‍यो, जसमा  औसत दुई घण्टासम्म ढिलो हुने अपेक्षा गरिएको थियो ।

ह्युस्टनका दुवै प्रमुख विमानस्थलहरू हबी र जर्ज बुश इन्टरकन्टिनेन्टलले पनि कर्मचारी अभावका कारण ढिलो भएको अनुभव गर्ने अनुमान गरिएको छ ।

सीएनएनका अनुसार क्यालिफोर्नियाको बब्र्याङ्क विमानस्थलमा सोमबार निर्धारित एयर ट्राफिक कन्ट्रोलरहरू काममा नआएपछि पाइलटहरूले आफैँले विमानस्थल सञ्चालन गर्नु परेको थियो । उनीहरूले सुरक्षित रूपमा उडान र अवतरण समन्वय गर्न रेडियोमार्फत प्रत्यक्ष कुराकानी गरेका थिए ।

उडानहरूले आफ्नो स्थिति र मनसाय रिपोर्ट गर्नका लागि कमन ट्राफिक एडभाइजरी फ्रिक्वेन्सीमा भर परेका थिए ।

यद्यपि, फेडरल एभिएसन एडमिनिस्ट्रेसनले कुनै कन्ट्रोल टावर उपलब्ध नभएको बेला पाइलटहरूलाई सो कमन ट्राफिक एडभाइजरी फ्रिक्वेन्सीमा कुराकानी गर्न अनुमति दिन्छ । तर, यो सामान्यतया साना विमानस्थलहरूमा मात्र प्रयोग गरिन्छ ।

एक बोइङ ७३७ का पाइलटले भने, “साउथवेस्ट १५९१, हामी ट्याक्सीवे अल्फामा रनवे आठ पार गर्न लागेका छौँ । त्यसपछि ट्याक्सीवे डेल्टामा बायाँ मोड लिनेछौँ ।”

उडान ट्रयाकर फ्लाइटअवेयरका अनुसार बब्र्याङ्क को कन्ट्रोल टावर करिब ६ घण्टा बन्द हुँदा ३७ उडानहरूले उडान भरे र ३३ अवतरण भए ।

कमन ट्राफिक एडभाइजरी फ्रिक्वेन्सी प्रयोग गरेर विमानहरूबीच सुरक्षित दूरी कायम गर्दा अतिरिक्त समय लाग्यो, जसको परिणामस्वरूप सोमबार बब्र्याङ्क का उडानहरूमा साढे दुई घण्टाभन्दा बढी ढिलाइ भयो । टाइम्स अफ इन्डिया

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्