site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केपी ओलीलाई गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्छ : खगराज अधिकारी

पोखरा । नेकपा (एमाले)का नेता खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरेको खण्डमा कास्की एमालेले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिएका छन् । अधिकारी गण्डकी प्रदेश एमाले संसदीय दलका नेता समेत हुन् ।

बुधबार (असोज २२) एक कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीलाई गिरफ्तार गरे प्रतिकार गर्ने बताएका हुन् ।

“केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्नेछ र कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउनेछ । यहाँबाट सुरु गर्नेछौँ,” उनले भने ।

उनले एमाले कार्यकर्तालाई ओलीको विकल्प नखोज्न पनि आग्रह गरेका छन् । एमालेमा ओलीको विकल्प नरहेको उनले बताए ।

“नेतृत्व विस्थापित गरेर पार्टी कसरी बनाउन सक्नुहुन्छ ? केपी शर्मा ओलीलाई विस्थापित गरेर पार्टी कसरी बन्छ, सम्भव छ ?” उनले भने ।

अन्तरिम सरकारले घोषणा गरेको मितिमा चुनाव हुने र त्यसका लागि तयार रहन पनि उनले आग्रह गरे । साथै, उमेदवार छनोट गर्दा लोकप्रिय मान्छे खोज्नुपर्ने उनले बताए ।

“फागुन २१ गते चुनाव हुँदै छ, त्यसको तयारीमा जानुपर्‍यो । बहालवाला सदस्यहरू फेरि उमेदवार बन्न गाह्रो छ । अरु साथीहरूमध्येबट लोकप्रियताको आधारमा हामीले उमेदवार छान्नुपर्छ,” अधिकारीले भने ।

उनले सेनामाथि पनि गम्भीर आरोप लगाए । अधिकारीले भने, “सेनामा लोकतान्त्रिकरण भएन, विश्वास नगरी पनि भएन । सेनाले सिंहदरबार जलेको हेरिरह्यो, प्रधानमन्त्रीले राजीनामा दिनुभयो ।”

उनले नेपालका चारवटै सुरक्षा निकायका अधिकारीहरू ‘डिप स्टेट’ (राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्ति)को प्रभावमा परेर बिकेको गम्भीर आरोप लगाए । “यसकारणले कहिँ स्थायी कमिटीमा भइसकेको, सरकारमा भइसकेको मान्छेले यस्तो बोल्यो भनेर, त्यसमा क्षमा दिनुहोला तर तपाईंका यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नै पर्छ यी चारै सुरक्षा निकायका मान्छेहरू बिकेका हुन्, डिप स्टेट स्टेकहोल्डरबाट,” अधिकारीले भने ।

उनले नेपालमा ‘डिप स्टेट’का स्टेकहोल्डरहरूले राज्य कब्जा गर्ने प्रयास गरेको र यसमा विभिन्न राजनीतिक दलका आन्तरिक विवाद र समानान्तर गतिविधिहरू पनि सहयोगी बनेको उल्लेख गरे ।

ओलीको बचाउमा बोल्दै अधिकारीले गोली हान्ने आदेश प्रधानमन्त्रीले नदिएको बताए । “अब त तपाईंले बुझिसक्नुभयो होला, गोली हान्ने आदेश जिल्ला सुरक्षा समितिले गर्छ । अनि केपी ओलीले बच्चालाई गोली हान्ने आदेश दियो भन्ने कल्पना गर्न सक्छौँ हामी ?” उनले भने, “सरकारको पालामा भयो, नेतृत्वकर्ता भयो, खेद छ, हाम्रा नातिनातिनीलाई गोली लागेको छ ।”

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्