site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री कार्कीले गरिन् ४४ नियोग प्रमुखसँग छलफल, ६ विषयमा दिइन् निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित ४४ नेपाली नियोगका प्रमुखहरूसँग छलफल गरेकी छन् । बुधबार उनले भर्चुअल छलफल गर्दै नियोग प्रमुखहरूलाई मुख्य गरी ६ वटा विषयमा निर्देशन दिएकी छन् । 

“प्रधानमन्त्रीज्यूले आज भर्चुअल रूपमा ४४ वटा नेपाली नियोग प्रमुखहरूसँग छलफल गर्नुभएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बाह्रखरीसँग भने, “जेनजी प्रदर्शनपछि परिवर्तित अवस्थालाई लिएर उहाँले नियोग प्रमुखहरूलाई केही निर्देशन दिनुभएको छ ।” 

प्रधानमन्त्री कार्कीले पहिलो निर्देशन जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँग सम्बन्धित रहेको छ । उनले जेनजीका चाहना र मागलाई सम्बिन्धत देशलाई जानकारी गराउन निर्देशन दिएकी थिइन् । 

प्रधानमन्त्री कार्कीले दिएको दोस्रो निर्देशन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित छ । उनले नियोग प्रमुखहरूलाई निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सहयोग र सद्भाव जुटाउन निर्देशन दिएको प्रवक्ता क्षेत्रीले जनाए । निर्वाचानमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि यसमा समेटिएको थियो । 

तेस्रो निर्देशन विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गारउनेसँग सम्बन्धित रहेको छ । विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न र मन्त्रालयमा रिपोर्ट गर्न उनले नियोग प्रमुखलाई निर्देशन दिएकी थिइन् । 

पुनर्निर्माण कोषलाई लिएर उनले चौथो निर्देशन दिएकी थिइन् । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका संरचनाको पुनर्निर्माण गर्न सरकारले कोष स्थापना गरेको छ । उक्त कोषमा रकम जम्मा गर्न सम्बन्धित देशमा रहेका नेपाली र विदेशीलाई आह्वान गर्न उनले निर्देशन दिएकी थिइन् । 

प्रधानमन्त्री कार्कीको पाँचौँ निर्देशन पर्यटन क्षेत्रसँग सम्बन्धित छ । गत वर्षको अक्टोबरमा नेपालका होटेल बुकिङ ७० प्रतिशत रहेको थियो । जेनजी प्रदर्शनको असरका कारण यस वर्षको अक्टोबरमा होटेल बुकिङ ३० प्रतिशतमा झरेको छ । 

यसैकारण प्रधानमन्त्री कार्कीले नेपाली नियोग प्रमुखहरूलाई सम्बन्धित देशमा नेपाली खुलिसकेको सन्देश दिई नेपाल घुम्न जान आग्रह गर्न निर्देशन दिएकी थिइन् । 

छैटौँ निर्देशन नियोगहरूको सेवा प्रवाहसँग सम्बन्धित रहेको छ । प्रधानमन्त्री कार्कीले सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र छरितो बनाउन निर्देशन दिएकी थिइन् । 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्