site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न प्रस्ताव पेस

काठमाडौं । मधेस प्रदेश सरकार गठनका लागि कांग्रेस, एमाले र जनमतले प्रदेश प्रमुखसमक्ष प्रस्ताव पेस गरेका छन् । कांग्रेसको संसदीय दलको नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठन गर्न नेकपा एमाले, नेपाली कांग्रेस र जनमतले बुधबार प्रदेश प्रमुख कार्यालयमा पुगेर प्रस्ताव पेस गरेका हुन् । 

जनमतका नेता महेश यादवले जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिइसकेकाले कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “जेनजी आन्दोलनका क्रममा जुन प्रस्तुति थियो । त्यो प्रस्तुतिअनुसार मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत राजीनामा पनि दिइसक्नु भएको थियो । राजीनामा आइसकेपछि पार्टीले नैतिक रूपमा आत्मसात गर्दै पत्राचार गरिसके पनि फिर्ता आउन चाहनु भएन । त्यही प्रस्तुति अनुरुप हामीले फिर्ता पनि बोलायौँ तर फिर्ता नआएपछि हामी सरकार निर्माण गर्ने हिसाबले अघि बढेको हो ।”

सरकार निर्माणका क्रममा भएको सहमतिअनुसार नै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाएको पनि उनले बताए । मन्त्री र मन्त्रालय बाँडफाँटका सम्बन्धमा छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ छ । 

वर्तमान मुख्यमन्त्री सिंहलाई जनमतले फिर्ता बोलाइसकेको र कारबाहीका लागि सिफारिस गरिसकेकाले थप निर्णय गरी अगाडि बढ्ने नेता यादवले बताए । 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्