काठमाडौं । रसायनशास्त्रतर्फको नोबेल पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन, र ओमार एम याघीलाई मेटल–अर्गानिक फ्रेमवर्कमा उनीहरूको योगदानको लागि प्रदान गरिएको छ ।
स्वीडेनको स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा रोयल स्विडिश एकेडेमी अफ साइन्सेजले उक्त घोषणा गरेको थियो । पुरस्कार जित्ने तीन वैज्ञानिकले एक करोड १० लाख स्विडिश क्रोनरको पुरस्कार राशि सेयर गर्नेछन् ।
गत वर्ष डेमिस हसाबिस, जोन जम्पर र डेभिड बेकरले जीवनको आधारभूत एकाइ प्रोटिनमा गरेको योगदानका लागि नोबेल पुरस्कार जितेका थिए ।
तीनै वैज्ञानिकको अनुसन्धान अणुहरूलाई संरचनात्मक रूपमा कसरी एकसाथ निर्माण गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । नोबेल समितिले यसलाई आणविक वास्तुकला भनेर वर्णन गरेको छ । उनीहरूले अणुहरूबीच ठूलो खाली ठाउँ भएका संरचनाहरू कसरी निर्माण गर्ने भनेर पत्ता लगाए, जसबाट ग्यास र अन्य रसायनहरू प्रवाह गर्न सक्छन् ।
यी संरचनाहरूलाई मेटल–अर्गानिक फ्रेमवर्क भनिन्छ । यी फ्रेमवर्कहरूलाई मरुभूमिको हावाबाट पानी निकाल्न, कार्बनडाइअक्साइड संग्रह गर्न, वा विषाक्त ग्यासहरू भण्डारण गर्न प्रयोग गर्न सकिन्छ ।
प्रोफेसर सुसुमु कितागावा जापानको क्योतो विश्वविद्यालयमा कार्यरत भने प्रोफेसर रिचर्ड रोबसन अस्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नमा आबद्ध छन् ।
प्रोफेसर ओमार एम याघी अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गर्छन् ।