site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले भने– हामीले सामाजिक सञ्जाल बन्द गरेका थिएनौँ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले एक वर्षअघिदेखि नै फेसबुकलगायत सामाजिक सञ्जाललाई दर्ता गरेर चलाउन भन्दै आएको बताएका छन् ।

बिहीबार (असोज २३) पार्टीको भक्तपुर जिल्ला कमिटीले गुन्डुमा आयोजना गरेको कार्यक्रममा उनले युवाले किन फेसबुक बन्द गरेको भन्दै प्रदर्शन गरेको बताए । तर, आफूहरूले बन्द नगरेर दर्ता गर्नलाई दबाब दिएको उनले उल्लेख गरे ।

“दर्ता गर्नुपर्छ, यो देशमा पैसा कमाउने, ट्याक्स नतिर्ने, पैसा कुम्लो पारेर अन्त लग्ने यो हुनु हुँदैन । हामीले दर्ता गरेर कर तिर्न मात्र भनेका थियौँ,” उनले भने, “यो देशमा सामाजिक सञ्जाल दर्ता गरेकै हुनुपर्छ, कर तिर्नु नै पर्छ ।”

नेपालको कानुन नै मान्दिनँ भनेर सामाजिक सञ्जाल दर्ता हुन नआएको उनले बताए । “साग बेच्नेले कर तिर्नुपर्छ, सामाजिक सञ्जालबाट अर्बौं कमाउनेले कर तिर्न नपर्ने ? यस्तै तत्त्वले उचालेर दर्ता नभएको । तिम्रो देश मान्दिनँ भन्छ, तिम्रो संविधान मान्दिनँ भन्छ,” ओलीले भने ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्