site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवापक्षले महाधिवेशनका लागि चाहेको थप समय कति हो ?

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे धारणा बनाउन नेपाली कांग्रेसले यही असोज २६ गतेदेखि केन्द्रीय समिति बैठक डाकेको हो ।

उक्त बैठकमा लैजाने धारणा बनाउन बिहीबार दिउँसोदेखि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्नु पर्ने भन्दै असम्भव भए विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए । 

उनीहरूले मंसिरमै महाधिवेशन गर्न चाहँदा सकिने भन्दै यदि सकिँदैन भने विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

नेता डा. शेखर कोइरालाले कार्यकाल सकिएको कार्यसमितिले विशेष महाधिवेशनमा जानु उपयुक्त नहुने र त्यसले पार्टीको समस्या पनि संबोधन नगर्ने भन्दै मंसिर मसान्तभित्रै नियमित महाधिवेशनमा जानुपर्ने बताएका छन् । 

उनले पार्टीको केन्द्रीय समितिसँगै सबै तहका कार्यसमितिको म्याद सकिएको र महाधिवेशन प्रतिनिधिको पनि म्याद सकिएकाले नयाँ प्रतिनिधिमार्फत मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

सभापति देउवा पक्षले भने नियमित महाधिवेशनमा सहमति जनाए पनि केही समय आवश्यक पर्ने बताएका छन् । उनीहरूले अब एक वर्ष नै वा अनावश्यक रूपमा समय थप गर्ने पक्षमा आफूहरू नरहेको भन्दै महाधिवेशनको प्रक्रियाका लागि आवश्यक पर्ने समय थप गर्नुपर्ने बताएका छन् ।

महाधिवेशनको सदस्यता छानबिन, नयाँ सदस्यता वितरण र तल्लो तहदेखि निर्वाचन गर्दै आउँदा लाग्ने उचित समय थप गरेर नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

“अहिले हामीसँग क्रियाशील सदस्यताको विवरण नै छैन । नयाँ सदस्यता वितरण समेत भएको छैन,” कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बाह्रखरीसँग भने, “यसका लागि आवश्यक समय सर्वसम्मतिबाट थपेर नियमित महाधिवेशनको कार्यातालिका पारित गर्दै प्रक्रिया सुरु गर्नुपर्छ ।” 

त्यसका लागि चाहिने समय कति हो, ६ महिना वा थप दुई महिना भए पुग्ने हो भन्ने प्रश्नमा उनले छलफलबाटै त्यो तय हुने बताए । 

“यति नै समय चाहिन्छ भन्ने हाम्रो अडान छैन । त्यो समय कति लाग्न भन्ने विषय पनि छलफलबाटै टुंगो लाग्छ,” महतले भने, “त्यसका लागि सहमतिमै वर्तमान केन्द्रीय समितिको म्याद थप गरेर नियमित महाधिवेशन गर्नुपर्ने बताए । 

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले भने म्याद थपको प्रस्ताव नै नलाने भन्दै नियमित महाधिवेशन सम्भव हुँदैन भनेर निष्कर्ष निस्किए अहिलेकै प्रतिनिधिहरूबाट विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्