काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गाजामा युद्धविराम गराउन सुरु गरिएको पहलले सफलता पाएको छ । इजरायली सेनाले शुक्रबार युद्धविराम अनुमोदन गर्दै हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि लागु भएको जानकारी दिएको छ ।
सेनाले सहमतिअनुसार सैनिकहरू आफ्नो पुरानो तैनाथी रेखातर्फ फर्किरहेको पनि बताएको छ । ट्रम्पको ‘शान्ति सम्झौता’ लाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको तर्फबाट यो बयान आएको हो ।
रोयटर्सको रिपोर्टअनुसार, मध्य गाजामा भेला भएका हजारौँ मानिसहरू पनि दिउँसो १२ बजे सेना फिर्ता हुने घोषणा भएपछि खण्डहर भएका आफ्ना घरहरू तर्फ फर्कन थालेका छन् । यसअघि प्यालेस्टाइनी अधिकारीहरूले शुक्रबार बिहान गाजाका केही भागमा भारी गोलीबारी भएको जानकारी दिएका थिए ।
शुक्रबार इजरायली मन्त्रिपरिषद्ले ट्रम्पको योजनालाई अनुमोदन गरेपछि मध्य–पूर्वमा विगत दुई वर्षदेखि जारी युद्धमा विराम लागेको छ । शुक्रबार बिहान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयबाट जारी गरिएको एक वक्तव्यमा मन्त्रिपरिषद्ले बन्धकहरूको रिहाइका लागि एउटा सम्झौतालाई अनुमोदन गरेको उल्लेख छ । यद्यपि, वक्तव्यमा सम्झौताका विवादास्पद पक्षहरू उल्लेख गरिएको छैन ।
नाम नखुलाउने सर्तमा एक इजरायली सुरक्षा अधिकारीले बताएअनुसार, सेनालाई जुन रेखामा फिर्ता हुन पठाइँदै छ, त्यहाँबाट सेनाले गाजाको करिब ५० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राख्नेछ । रिपोर्टहरूका अनुसार, गाजामा युद्धविराम लागु भएको घोषणा नहुँदासम्म पनि गोलीबारी जारी रहेको थियो ।
स्थानीय निवासी महमूद शाकार्वीले भने, “आज गोलीबारी निकै धेरै भयो, यसका अतिरिक्त हाम्रा टाउकोमाथि पहिलेको तुलनामा धेरै इजरायली विमानहरू उडिरहेका थिए ।”
रोयटर्ससँग कुरा गर्दै अर्का एक स्थानीय बासिन्दाले युद्धविरामको खबर भ्रमित पार्ने रहेको बताए । किनभने, घोषणा भएपछि पनि आफूहरूले लगभग पूरै रात गोलीबारीको आवाज सुनिरहेको उनले बताए ।