काठमाडौं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ । शुक्रबार गुण्डुमा बसेको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यसको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए ।
पार्टीले छिटै महाधिवेशन गरेर त्यसकै माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए । मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरूसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भए पनि वर्तमान सरकारले त्यसो नगरेको उल्लेख गरे ।
सरकार दलहरूलाई साथ लिने नभइ निषेधको बाटोमा गएको बताए । सरकारमा रहेका मानिसहरू र सरकार बनायौँ भन्नेहरू हिंसाको भाषा बोलिरहेको तथा राजनीतिक नेताहरूमाथि भौतिक आक्रमणको धम्की आइरहेको उल्लेख गरे । “प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरूलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने, शान्तिपूर्ण ढंगले गतिविधि गर्न राजनीतिक पार्टीहरूलाई रोक लगाएकोप्रति एमाले गम्भीर छ,” उनले भने । नेताहरूलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको उनको भनाइ थियो ।
बैठक शनिवार बिहान ११ बजेबाट पुनः सुरु हुनेछ । बैठकमा जेनजी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरिने उल्लेख छ । उनले वर्तमान सरकारले गरेका क्रियाकलापबारे पनि छलफल गरिएको बताए ।
भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाजहरू स्वभाविक रहेको र शान्तिपूर्ण आन्दोलन गर्ने र सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सरकारलाई दबाब सिर्जना गर्ने भनेर आन्दोलन गरिएको बताए । “सरकारलाई दबाब सिर्जना गर्ने भनेर आन्दोलन गरियो, तर शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएपछि यो घटना भएको हो,” उनले भने ।