काठमाडौं । नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन च्युङले समितिले शान्तिभन्दा बढी राजनीतिलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै च्युङले लेखेका छन्, “राष्ट्रपति डोनाल्ड ट्रम्प शान्ति सम्झौताहरू गराइरहनेछन्, युद्धहरू अन्त्य गराउनेछन् र जीवनहरू बचाउनेछन् । नोबेल समितिले शान्तिलाई होइन, राजनीतिलाई रोजेको कुरा प्रमाणित गरेको छ ।”
उनले थपे, “राष्ट्रपति ट्रम्पको मनमा एक साँचो मानवतावादी भावना छ । आफ्नो इच्छाशक्तिको बलमा असम्भवलाई सम्भव बनाउने उहाँजस्तो अर्को व्यक्ति छैन ।”
अमेरिकी राष्ट्रपति ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि सशक्त दाबेदार मानिएका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले समेत ट्रम्पलाई पुरस्कार दिन समितिलाई आग्रह गरेका थिए ।
ह्वाइट हाउसले भेनेजुएलाकी विपक्षी नेतृलाई शान्ति पुरस्कार दिने नोबेल समितिको निर्णयको आलोचना गरेको हो । नर्वेजियन नोबेल कमिटीले भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई निरंकुश नेतृत्वको विरोध गर्ने र स्वतन्त्रताको साहसी रक्षक भन्दै वार्षिक नोबेल शान्ति पुरस्कार प्रदान गरेको घोषणा गरेको थियो ।
यसै हप्ता राष्ट्रपति ट्रम्पले गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौताको घोषणा गरेका थिए, जसलाई उनले आफ्नो प्रमुख कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।
नोबेल समितिको निर्णयबारे राष्ट्रपति ट्रम्पले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, शुक्रबार बिहान उनले आफ्ना समर्थकहरूले गाजा सम्झौताप्रति व्यक्त गरेको खुसी झल्काउने तीनवटा भिडियो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट गरेका थिए ।