site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिसित ‘जेनजी’को छलफल सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित ‘जेनजी’ युवाबीच सोमबार (असोज २७) छलफल हुने भएको छ । शनिबार (असोज २५) छलफलका निम्ति तयारी गरिए पनि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण सोमबारका निम्ति छलफल सारिएको हो ।

केही जेनजी युवा शनिबार नै छलफलका निम्ति शीतलनिवास पुगेका थिए । तर, अरू जेनजी युवाले आफ्ना निकटसँग मात्र छलफल गर्न खोजेको भन्दै शीतलनिवासबाहिर विरोध जनाएका थिए ।

असन्तुष्ट युवाले शीतलनिवासको गेटमा भित्रबाट आएको नाम हेर्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन् । छलफलका निम्ति सरकारले छानेको सूचीमा आफूहरूको असहमति रहेको उनीहरूले जनाएका छन् ।

उनीहरूले निरंकुश तरिकाले आफूनिकट जेनजी युवालाई मात्र काखी च्याप्ने काम भएको गुनासो गरे ।

सोमबार राष्ट्रपति पौडेलसँग छलफलका निम्ति जेनजी अगुवाहरू सुधन गुरुङ, मिराज ढुंगाना, प्रवेश दाहाललगायत २० जनाको नाम सिफारिस गरिएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्