site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस कार्यालयमा पार्टीका युवाको धर्ना

काठमाडौं । नेपाली कांग्रेसका विभागमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको छ । शनिबार (असोज २५) कांग्रेस कार्यालय सानेपामा धर्ना दिँदै पार्टीमा आबद्ध युवाले विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व निश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको आधिकारिक उमेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

यस्तै, ‘जेनजी’ उमेर समूहमा कम्तीमा २५ प्रतिशत क्रियाशील सदस्य पुर्‍याउन क्रियाशील सदस्यता वितरणलाई तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

निवर्तमान समितिका सभापति, पदाधिकारी तथा सदस्य समेत स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने व्यवस्थाको अन्त्य गरी चलायमान र जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्ने आफूहरूको माग रहेको नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले जानकारी दिए ।

उनीहरूले पार्टीको क्रियाशील सदस्यता वितरण निश्चित मापदण्ड तयार गरी खुला रूपमा जुनसुकै समयामन लिन सकिने गरी सहज र प्रविधिमैत्री बनाउनुपर्ने माग गरेका छन् ।

पार्टी र सरकार सञ्चालन फरक विषय भएको हुँदा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी प्रदान नगर्न विधानमा व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्