site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजा नरसंहारको समर्थन गरेको पाइएपछि मचाडोलाई दिइएको नोबेल शान्ति पुरस्कारप्रति विवाद
तस्बिर : एपी ।

काठमाडौं । भेनेजुएलाकी प्रजातन्त्रवादी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार २०२५ बाट सम्मान गर्ने घोषणा गरियो । तर, यो घोषणाको केही घण्टापछि नै विवाद सुरु भएको छ ।

आलोचकले मचाडोले इजरायल र गाजामा भएको बमबारीको समर्थन र आफ्नो देशमा सत्ता परिवर्तनका निम्ति विदेशी हस्तक्षेपको माग गरेको आरोप लगाएका छन् ।

नर्वेस्थित नोबेल कमिटीले मचाडोलाई ‘प्रजातन्त्रको मसाल बालेर राख्ने शान्तिकी योद्धा’ भनेको छ । कमिटीका अध्यक्ष जोर्गन वटने फ्राइडनेसले मचाडोले ‘प्रजातन्त्रका औजार नै शान्तिका औजार हुन्’ भन्ने देखाएको बताएका छन् । उनले कठिन परिस्थितिमा पनि देश नछाडेको र लाखौँ मानिसका निम्ति प्रेरणा बनेको फ्राइडनेसले उल्लेख गरे ।

मचाडो भेनेजुएलाको विपक्षी राजनीतिका प्रमुख अनुहार हुन् । उनले वर्षौंदेखि तानाशाही शासनविरुद्ध आवाज उठाउँदै आएकी छन् ।

आलोचना र विरोधका कारण
उनका पुराना सामाजिक सञ्जाल पोस्ट यति बेला विवादको कारण बनेका छन् । आलोचकका अनुसार, मचाडोले पहिले इजरायल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको खुलेर समर्थन गरेकी थिइन् ।

उनले एउटा पोस्टमा लेखेकी थिइन्, “भेनेजुएलाको लडाइँ इजरायलको लडाइँ हो ।”

अर्को पोस्टमा उनले आफू सत्तामा आएमा भेनेजुएलाको दूतावास जेरुसेलममा स्थानान्तरण गर्ने बताएकी थिइन् । यही कारणले धेरै संगठनले गाजा नरसंहारबीच उनलाई शान्ति पुरस्कार दिनुले नोबेल समितिको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

अमेरिकास्थित काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसनले यो निर्णयलाई विवेकहीन भनेको छ । संगठनले नोबेल कमिटीले युद्ध समर्थक अडान अपनाउने व्यक्तिलाई नभएर हरेक मानिसका निम्ति न्यायका पक्षमा बोल्नेलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

मचाडोमाथि अर्को गम्भीर आरोप के छ भने उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकार गिराउन विदेशी मद्दतको अपिल गरेकी थिइन् ।

सन् २०१८ मा उनले इजरायल र अर्जेन्टिनालाई पत्र लेखेर आफ्नो देशमा प्रजातन्त्र पुनर्बहालीका निम्ति सहयोग मागेकी थिइन् । त्यसलाई विपक्षीले विदेशी हस्तक्षेपको मागका रूपमा लिएका थिए ।

मचाडोले आफ्नो नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पित गरेकी थिइन् । त्यसपछि ह्वाइट हाउसले यो निर्णयको आलोचना गर्दै नोबेल कमिटीले शान्तिभन्दा बढी राजनीतिलाई महत्त्व दिएको आरोप लगाएको थियो । हिन्दुस्तान टाइम्सबाट ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्