site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्न सक्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छाड्ने बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीसहित सञ्चारकर्मीसँगको भेटमा उनले फागुन २१ मा चुनाव गराउने विषयमा सरकार स्पष्ट रहेको बताए ।

सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने उनको भनाइ छ । खरेलले ६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गरे ।

“यो सरकार विशेष परिस्थितिमा आएको हो । यसको स्पष्ट मान्डेटहरू छन् । चुनाव फागुन २१ मा गर्नैपर्छ, गर्ने नै हो । यो सरकार यसमा स्पष्ट छ । दोस्रो कुरा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरूमा यो ५/६ महिनाको अवधिमा जनतालाई अनुभूत गराउने गरेर काम सुरु भयो, अगाडि बढ्यो, काम देखियो भन्ने हिसाबले त्यसको सुरुवात गर्ने हो," उनले भने ।

"फेरि मैले यो पटकपटक भनेको छु– यो भ्रष्टाचार नियन्त्रणमा सयमा सय गर्न त समय लाग्दछ नै । हामीसँग त यतिवटा काण्डहरू छन् कि कतिपय काण्डहरू दुई महिना लाग्छ, तीन महिना लाग्छ । एक वर्ष लाग्छ । दुई वर्ष लाग्न सक्छ । तर, ६ महिनाभित्र कम्तिमा महसुस हुने गरी कामहरू अगाडि बढाउने हो," उनले थपे ।

मन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही गर्ने दृढतासमेत व्यक्त गरे ।

– न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्