काठमाडौं । अफगानिस्तानका अधिकारीहरूले आफ्ना सेनाले रातभरको सीमावर्ती कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारेको दाबी गरेका छन् । उता, पाकिस्तानले आफ्नो सुरक्षा बलले १९ अफगान सीमा चौकी कब्जा गरेको बताएका छन् ।
तालिबान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएअनुसार, अफगान सेनाले २५ पाकिस्तानी सैनिक चौकी कब्जा गरेको, ५८ सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेको छ ।
“अफगानिस्तानका सबै आधिकारिक सीमा र वास्तविक रेखाहरूमा स्थिति पूर्ण नियन्त्रणमा छ, र अवैध गतिविधिहरूलाई ठूलो मात्रामा रोकिएको छ,” मुजाहिदले एक पत्रकार सम्मेलनमा भने ।
तालिबान सरकारको रक्षा मन्त्रालयले आफ्ना सेनाले सीमामा जवाफी र सफल कारबाही गरेको जनाएको छ । “यदि विपक्षी पक्षले फेरि अफगानिस्तानको क्षेत्रीय अखण्डता उल्लंघन गर्छ भने, हाम्रा सशस्त्र बलहरू राष्ट्रको सिमाना रक्षा गर्न पूर्ण रूपमा तयार छन् र कडा जवाफ दिनेछन्,” मन्त्रालयले थप्यो ।
अफगानिस्तानको टोलो न्युजका अनुसार, रक्षा मन्त्रालयले पाकिस्तानसँगको सीमामा रहेको कुनार प्रान्तका विभिन्न क्षेत्रमा ट्यांक र भारी हतियार तैनाथ गर्ने क्रम जारी राखेको छ ।
पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले अफगानिस्तानको आक्रमणलाई पाकिस्तान भित्रका नागरिक क्षेत्रमा भएको उक्साहटपूर्ण आक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भनेका छन् । “सर्वसाधारण नागरिक बसोबास गर्ने क्षेत्रमा गोली चलाउनु अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन हो,” नक्वीले आइतबार एक विज्ञप्तिमा बताएका छन् ।
एक वरिष्ठ पाकिस्तानी सुरक्षा अधिकारीले रोयटर्सलाई बताएअनुसार, अफगान सेनाले खैबर पख्तुनख्वाका चित्राल, बाजौर, मोहमन्द, अंगर अड्डा र कुर्रम जिल्लाजस्ता धेरै उत्तर–पश्चिमी सीमावर्ती ठाउँहरूमा सैन्य आक्रमण गरेको हो ।
नाम नबताउने सर्तमा ती अधिकारीले पाकिस्तानी सेनाले खैबर जिल्लाको तिराह नजिक र सीमापार अफगानिस्तानको नान्गरहार प्रान्तमा भारी हतियार प्रयोग गरेर जवाफ दिएको पनि जानकारी प्राप्त भएको बताए ।
अफगान सरकारका प्रवक्ताले प्रेस ब्रिफिङमा अफगान सेनाले रातभरको कारबाहीमा पाकिस्तानी चौकीहरूबाट थुप्रै हतियारहरू कब्जा गरेको दाबी गरिएको छ । साथै २० वटा पाकिस्तानी सुरक्षा चौकी ध्वस्त पारेको बताएको छ । समाचारअनुसार, कतार र साउदी अरबको अनुरोधपछि मध्यरातमा कारबाही रोकिएको थियो ।
सीमा झडपपछि साउदी अरबद्वारा संयमता अपनाउन आह्वान
साउदी अरबको विदेश मन्त्रालयले पाकिस्तान–अफगानिस्तान सीमामा हालैको तनाव र झडपलाई चिन्ताका साथ हेरिरहेको जनाएको छ । सो मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा तनाव कम गर्न, क्षेत्रीय स्थिरता कायम राख्न, संयमता अपनाउन र संवादलाई प्राथमिकता दिन आह्वान गरेको छ ।
रियादले आफ्नो विज्ञप्तिमा उसले शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन गर्ने र पाकिस्तान तथा अफगानिस्तानका जनताको सुरक्षा, स्थायित्व र समृद्धिका लागि उत्सुक रहेको उल्लेख गरेको छ ।
बिहीबार राति काबुलमा भएको हवाई हमलापछि पाकिस्तानले प्रतिनिधिमण्डल पठाउने अनुरोध गरेको थियो, तर त्यो अनुरोध अफगानिस्तानले अस्वीकार गरिएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले रातभर पाकिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानद्वारा गरिएको उक्साहटपूर्ण कार्यको निन्दा गरेका छन् । “पाकिस्तानको रक्षामा कुनै सम्झौता हुनेछैन, र हरेक उक्साहटको कडा तथा प्रभावकारी जवाफ दिइनेछ,” उनले एक विज्ञप्तिमा भने ।
उनले अफगान तालिबान अधिकारीहरूलाई आतंकवादी तत्वहरूद्वारा आफ्नो भूमि प्रयोग गर्न दिने आरोप लगाए ।
एएफपीलाई बताएका एक वरिष्ठ पाकिस्तानी अधिकारीका अनुसार, तोर्खम सीमामा थप अर्धसैनिक बल तैनाथ गरिएको छ । “तोर्खम सीमा पैदलयात्री आवतजावत र व्यापारका लागि पूर्णरूपमा बन्द गरिएको छ,” नाम नबताउने ती अधिकारीले बताए, “थप गोलीबारीको अवस्थामा कुनै हानि नहोस् भनेर सुरक्षा बलले सीमामा तैनाथ सबै नागरिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएको छ ।”
यसैबीच, पाकिस्तानको बलुचिस्तान प्रान्तलाई तालिबानको जन्मस्थल कन्दाहरसँग जोड्ने चमन नाका पनि सिल गरिएको सीमा अधिकारीले बताए ।