site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको विशेष महाधिवेशनका निम्ति प्रस्ताव दर्ता भोलि बिहान
गगन थापा । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने ‘म्याद’ मंगलबार (असोज २८) बिहान १० बजेसम्मका लागि थपिएको छ ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ । यही असोज २४ गते नै विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने भनिएको थियो । तर, ढिलाइ भएको छ ।

“आज दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी पाएर साढे २ बजे उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरी दर्ता गर्ने तयारी गरेका थियौँ,” महामन्त्री थापानिकट केन्द्रीय सदस्य मधु आचार्यले बाह्रखरीसँग भने, “कार्यसम्पादन समितिको बैठक भोलि बिहान ११ बजेका लागि सारिएको जानकारी आयो । त्यसैले उपसभापतिको समय हामीले भोलि नै १० बजेका लागि मागेका छौँ ।”

उनले दुई हजार ४०० भन्दा बढी प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिने बताए ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी समेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा घरमै आन्दोलनकारीको निसानामा परेका थिए । आन्दोलनकारी घरमा जबरजस्ती पसेर निर्घात कुटपिट गरेका थिए । रक्तपाक्ष अवस्थामा सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई अस्पताल पुर्‍याएका थिए ।

त्यसै दिन महामन्त्री थापासहित ३६ केन्द्रीय, ९५ स्थानीय नेताका घरमा समेत तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पिता कृष्णप्रसादले बनाएका विराटनगरस्थित घर, काठमाडौंको चाक्सीबारीस्थितस्थित गणेशमान सिंहको निवास समेत जलाइएको थियो । भ्रष्टाचारविरोधी सन्त नेताका छवि बनाएका कृष्णप्रसाद भट्टराई (किशुनजी)को आश्रम पनि आन्दोलनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका थिए ।

यो घटनासँगै महामन्त्रीद्वयले कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु गरेका हुन् । उनीहरूले तत्काल विशेष महाधिवेशन गरेर नेतृत्व फेर्ने बहस थालेका थिए । र, विशेष महाधिवेशनका निम्ति हस्ताक्षर संकलन गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्