काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले पार्टी एकताका लागि गृहकार्य तीव्र पारेका छन् । पार्टी एकताको सहमति भइनसकेको र आन्तरिकरूपमा छलफल भइरहेको एकीकृत समाजवादीले गठन गरेको कार्यदलका संयोजक बेदुराम भुसालले जानकारी दिए ।
वाम एकताका लागि एकीकृत समाजवादीले भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । “एकताको सहमति भइसकेको छैन । हामी गृहकार्यमा छौँ । अहिले पनि पार्टीको आन्तरिक बैठक बसिरहेको छ,” भुसालले बाह्रखरीसित भने ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले भने अहिलेको अवस्थामा पार्टी एकताको औचित्य नरहेको बताउँदै आएका छन् ।
तर, दुवै पार्टीमा सांगठनिक संरचना, बाँडफाँट र जिम्मेवारीलगायत विषयमा विभिन्न फोरममा आन्तरिक छलफल भइरहेको नेताहरू बताउँछन् ।
माओवादी केन्द्र नेता देव गुरुङले छलफल जारी रहेकाले समय लाग्ने बताए । “एकताको विषयमा छलफल भइरहेको छ । सहमति हुन अझै समय लाग्छ । एकता जस्तो विषय झट्टै हुँदैन,” उनले भने ।
माओवादी केन्द्रले 'बृहत् वाम एकता'का लागि भनेर सिद्धान्त र विचार मिल्ने दलहरूसँग छलफल थालिसकेको छ । माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पार्टीका आन्तरिक छलफल भइरहेको बताए ।
“जेनजी आन्दोलनले राजनीतिक परिस्थिति बेग्लै बनाएको छ । अहिलेको अवस्थामा नयाँ नीति र कार्यक्रमका साथ हामी अघि बढ्ने तयारीमा छौँ । एकताको विषयमा पनि हाम्रो जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । हाम्रो बैठकपछि सम्भवतः कुनै नयाँ निर्णय हुनेछ,” उनले भने ।