site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको विशेष महाधिवेशनका निम्ति आज प्रस्ताव दर्ता हुँदै
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुँदै छ । प्रस्ताव दर्ता गर्ने म्याद आज बिहान १० बजेसम्मका लागि थपिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ । यही असोज २४ गते नै विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने भनिएको थियो । तर, ढिलो भएपछि आज प्रस्ताव दर्ताको तयारी भएको छ । 

“आज दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी पाएर साढे २ बजे उपसभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरी दर्ता गर्ने तयारी गरेका थियौँ,” महामन्त्री थापानिकट केन्द्रीय सदस्य मधु आचार्यले बाह्रखरीसँग सोमबार भने, “कार्यसम्पादन समितिको बैठक भोलि (मंगलबार बिहान ११ बजेका लागि सारिएको जानकारी आयो । त्यसैले उपसभापतिको समय हामीले भोलि नै १० बजेका लागि मागेका छौँ ।”

उनले दुई हजार ४०० भन्दा बढी प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिने बताए ।

गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा घरमै आन्दोलनकारीको निसानामा परेका थिए । आन्दोलनकारी घरमा जबरजस्ती पसेर कुटपिट गरेका थिए । घाइते अवस्थामा सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई अस्पताल पुर्‍याएका थिए ।

त्यसै दिन महामन्त्री थापासहित ३६ केन्द्रीय, ९५ स्थानीय नेताका घरमा समेत तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पिता कृष्णप्रसादले बनाएका विराटनगरस्थित घर, काठमाडौंको चाक्सीबारीस्थितस्थित गणेशमान सिंहको निवास समेत जलाइएको थियो । भ्रष्टाचारविरोधी सन्त नेताका छवि बनाएका कृष्णप्रसाद भट्टराई (किशुनजी)को आश्रम पनि आन्दोलनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका थिए ।

यो घटनासँगै महामन्त्रीद्वयले कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु गरेका हुन् । उनीहरूले तत्काल विशेष महाधिवेशन गरेर नेतृत्व फेर्ने बहस थालेका थिए । र, विशेष महाधिवेशनका निम्ति हस्ताक्षर संकलन गरिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्