site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आमाबाट ‘हेपाटाइटिस बी’ बच्चामा सर्ने रोग उन्मूलन गर्ने माल्दिभ्स पहिलो देश

काठमाडौं । दक्षिण एसियाली देश माल्दिभ्सले आमाबाट ‘हेपाटाइटिस बी’ बच्चामा सर्ने रोगको उन्मूलन गरेको छ । यसका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले माल्दिभ्सलाई बधाई दिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, माल्दिभ्स ट्रिपल एलिमिनेसन हासिल गर्ने विश्वको पहिलो देश बनेको छ । डब्ल्यूएचओले दिएको जानकारी अनुसार आमाबाट बच्चामा हेपाटाइटिस बी सर्ने क्रमको उन्मूलन गर्नुका साथै यो देशले आमाबाट बच्चामा एचआईभी सर्ने र आमाबाट बच्चामा सिफिलिस सर्ने क्रमको उन्मूलन पहिले नै गरिसकेको छ ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भनेका छन्, “आज माल्दिभ्सले इतिहास रचेको छ । एचआईभी, सिफिलिस र ‘हेपाटाइटिस बी’को आमाबाट बच्चामा संक्रमणको उन्मूलनको लक्ष्य हासिल गर्ने विश्वको पहिलो देश हुन पाएकोमा हामीलाई गर्व छ ।”

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एशिया क्षेत्रमा करिब २५ हजार एचआईभी पोजेटिभ गर्भवती महिलाहरूलाई उनीहरूका शिशुहरूमा संक्रमण सर्नबाट रोक्नका लागि उपचारको आवश्यकता छ । ‘हेपाटाइटिस बी’ले यस क्षेत्रमा ४ करोड २० लाखभन्दा बढी मानिसहरूलाई निरन्तर असर गरिरहेको छ । न्युजअनएयर

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्