site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोडफोड र आगजनीबाट कोसी सरकारको डेढ अर्बको नोक्सान

विराटनगर । गएको भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट कोसी प्रदेशका ११ मन्त्रालय तथा निकायका ४२ भवनमा क्षति पुगेको छ । यसबाट प्रदेश सरकारलाई करिब डेढ अर्ब रुपैयाँबराबरको आर्थिक नोक्सानी भएको छ ।

प्रारम्भिक विवरणानुसार, तीमध्ये १८ भवन पूर्ण रूपमा प्रयोगविहीन भएका छन् । २४ वटा आंशिक रूपमा क्षतिग्रस्त छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रमुखसचिव निवास, सुरक्षाकर्मी बस्ने र पार्किङ टहरोलगायत संरचनामा क्षति पुगेको छ । ती मर्मतपछि पुनः प्रयोगमा ल्याउन सकिने बताइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रतिवेदनानुसार, प्रदेशसभा सचिवालय हाल मिडिया सेन्टरको एक कोठाबाट सञ्चालन गरिएको छ । प्रदेश किताबखानाको भवन समेत प्रयोग गर्न अयोग्य भएको उल्लेख छ ।

मन्त्रालयको मुख्य भवन, सचिव आवास, सहरी विकास महाशाखा तथा झापास्थित पूर्वाधार विकास कार्यालयमा पनि क्षति पुगेको छ ।

साथै, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश योजना आयोग, खानेपानी, सिँचाइ तथा ऊर्जा, आर्थिक मामिला तथा योजना, स्वास्थ्य, आन्तरिक मामिला तथा कानुन, उद्योग, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयका भवन आंशिक रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनानुसार, अधिकांश भवन सामान्य मर्मतपछि पुनः प्रयोगमा ल्याउन सकिने अवस्थामा छन् । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

मन्त्रिपरिषद्को निर्णयानुसार, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई आउँदो कात्तिक ९ गतेसम्म अन्तिम प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मन्त्रालयका निमित्त सचिव रमेश श्रेष्ठले तोकिएको म्यादभित्र प्रतिवेदन तयार पारिने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्