काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारको तयारी थालेकी छन् । दुई दिनभित्रै तीन जनालाई सरकारमा सहभागी गराउने तयारी छ ।
तर विभिन्न समूहले चर्चामा ल्याएका नामका बारेमा भने छलफल भएको छैन ।
“केहीले नाम सिफारिस गरेको भनेका छन्, केही नामहरु चर्चामा आएका छन्,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “त्यसरी आएका नामका बारेमा कुनै पनि छलफल भएको छैन । कसैले सिफारिस गरेको पनि होइन । त्यसरी बाहिर चर्चामा ल्याइएका नाम नपर्ने सम्भावना अधिक छ ।”
उनका अनुसार बजारमा आएका नामका बारेमा छलफलसमेत भएको छैन । स्रोतका अनुसार प्रधानमन्त्री कार्की अन्य मन्त्रालयको जिम्मेवारी दिन तयार भए पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी भने कसैलाई नदिने तयारीमा छन् ।
प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले पनि सरकार विस्तारको तयारी रहेको जानकारी गराए ।
“छलफल हुँदैछ । सम्भवतः दुई दिनभित्रै क्याबिनेट विस्तार हुन्छ,” उनले भने । उनका अनुसार अहिले तीनजना मात्रै थप गर्ने तयारी छ । प्रधानमन्त्री कार्की नै क्याबिनेट ठूलो बनाउने पक्षमा छैनन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की नेतृत्वमा अहिले ८ सदस्यीय सरकार रहेको छ ।
रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदिश खरेल मन्त्री छन् ।