site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

“देशभर तोडफोड र विध्वंश भइरहेका बेला चीनमा रहनुभएका जनमतका अध्यक्ष डा. सीके राउतजीले मलाई राजीनामा दिन निर्देशन दिनुभयो । मैले प्रदेश प्रमुखज्यूसमक्ष नै राजीनामा दिने कुरा राख्दा त्यो नगर्न अध्यक्षज्यूको निर्देशन थियो,” उनले भने ।

उनले आफूले अध्यक्ष राउतको निर्देशनबमोजिम नै आफूले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको बताए । तर, आन्दोलनकारीले राजीनामा नमागेको र गठबन्धन दलसँग पनि कुनै सल्लाह नभएको अवस्थामा अध्यक्षले राजीनामा दिन भनेकाले मनमा प्रश्न भने उब्जिएको उनको भनाइ छ ।

उनले आफूले भदौ २८ गते नै राजीनामा दिने तयारी गरिरहँदा आफूलाई नसोधी जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीलाई फिर्ता बोलाइएको पत्र सार्वजनिक भएको गुनासो गरे । संसदीय दलको सदस्य रहे पनि आफूलाई जानकारी नै नदिई एक्कासि पत्र काटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएकोप्रति उनको असन्तुष्टि थियो ।

मुख्यमन्त्री सिंहले जेनजी आन्दोलनका सहिदको रगत नसुकी सत्ताको लुछाचुँडी भएको पनि बताए ।

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्