काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्ने तयारी भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार (असोज २८) पदबाट राजीनामा दिएसँगै यादवको नेतृत्वमा सरकार गठन हुने नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।
उनले भने, “प्रदेशबाट आह्वान हुन्छ । त्यसपछि हामी निर्णय गर्छौं ।” विगतमा भएको सहमतिमा आफूहरू अडिग रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री सिंह अल्पमतमा परेसँगै कांग्रेसको नेतृत्वमा सरकार गठनको दाबी पेस गरेका थिए । प्रदेश प्रमुखको तर्फबाट सरकार गठनका लागि आह्वान हुनेबित्तिकै अघि बढ्ने उनले बताए । एमाले, जनमत र लोसपाको समर्थनमा कांग्रेस नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्ने सहमति भइसकेको छ ।