काठमाडौं । रुसले संयुक्त राष्ट्रसंघले इरानमाथि हालै पुनः लागु गरेका प्रतिबन्धहरूलाई अस्वीकार गरेको छ । मस्कोले उक्त निर्णयलाई मान्यता नदिने र तेहरानसँग कानुनी रूपमा स्वीकृत सैन्य सहयोग जारी राख्ने घोषणा गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्कोले इरानलाई आवश्यक सैन्य उपकरण कानुनी रूपमा आपूर्ति गरिरहेको बताए । उनले यो सहयोग अन्तर्राष्ट्रिय कानुन र विद्यमान द्विपक्षीय सम्झौताअन्तर्गत भइरहेकोमा जोड दिए ।
लाभरोभको भनाइ संयुक्त राष्ट्रसंघले सेप्टेम्बर २७ मा फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यको आग्रहमा इरानमाथि प्रतिबन्ध पुनः लागु गर्ने निर्णय गरेपछि आएको हो । ती देशहरूले इरानले आफ्ना आणविक प्रतिबद्धताहरू पूरा गर्न असफल भएको दाबी गरेका थिए ।
उक्त निर्णयले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का अघिल्ला ६ प्रस्तावहरू १६९६, १७३७, १७४७, १८०३, १८३५ र १९२९ लाई पुनर्जीवित गरेको छ ।
पुनः लागु गरिएका प्रतिबन्धहरूले इरानको आणविक, क्षेप्यास्त्र र परम्परागत हतियार गतिविधिलाई लक्षित गरेका छन् ।
यसअन्तर्गत युरेनियम संवर्द्धनमा निलम्बन, ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधिको स्थानान्तरणमा रोक, तोकिएका व्यक्ति तथा निकायहरूमा यात्रा प्रतिबन्ध र सम्पत्ति रोक्का पुनः लागु गर्ने प्रावधानहरू समावेश छन् ।
इरानको सैन्य कार्यक्रमसँग सम्बन्धित हतियार र निषेधित कार्गो जफत गर्न पनि अनुमति दिइएको छ ।
तर, रुसले यी प्रतिबन्धहरूको वैधानिकता अस्वीकार गर्दै युरोपेली राष्ट्रहरू आफैँले जेसीपीओए (इरान आणविक सम्झौता)का दायित्वहरू पूरा नगरेको र त्यसपछि एकतर्फी रूपमा स्न्यापब्याक संयन्त्र सक्रिय गरेको आरोप लगाएको छ । तेहरान टाइम्स