site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रस्तावमा १८४ सदस्यले राखे धारणा, संसद् पुनर्स्थापनामा जोड

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विशेष प्रस्तावमा बिहीबारसम्म १८४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा पहिलो दिन बुधबार ५० केन्द्रीय सदस्यले धारणा राखेका थिए । दोस्रो दिन १३४ जनाले धारणा राखेका हुन् ।

ललितपुरको जावलाखेलमा जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय समिति सदस्यहरूले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिइरहेको नेता राजेन्द्र गौतमले जानकारी दिए ।

उनले आफूहरूले निर्वाचनमा भाग नलिने नबताएको तर सरकारले पहिले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

"निर्वाचनमा भागै लिँदैनौँ भनेका छैनौँ । अविलम्ब वातावरण बनाउन भनेका छौँ । उहाँहरूले वातावरण बनाएपछि बोल्छौँ । यसमा केन्द्रित भएर धेरै छलफल भएको छैन," उनले भने ।

नेतृत्व पुनर्गठनको विषय महाधिवेशनको एजेन्डा भएकाले बैठकमा यस विषयमा धेरै केन्द्रित भएर छलफल नभएको उनको भनाइ छ ।

"पार्टीको जस र अपजस अध्यक्षलाई मात्रै केन्द्रित गरेकोमा आपत्ति जनाइएको छ । जस र अपजस 'कोर अफ लिडरसिप' (सबै पदाधिकारी)ले लिनुपर्छ भन्ने कुरा छलफलमा उठेको छ," उनले भने ।

बुधबार सुरु भएको केन्द्रीय बैठक भोलिसम्म चल्ने तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्