site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजीहरूलाई राष्ट्रपतिको आग्रह– निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न लागौँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन् । शीतलनिवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । 

उनले युवापुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको उल्लेख गरे । यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

"यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन," राष्ट्रपति पौडेको भनाइ उद्धृत गर्दै पोखरेलले भने, "त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । र, युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।"

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागका बारेमा सरकारले ध्यान दिने स्पष्ट पारे ।

भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रर्वधन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरे ।

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासका प्रशंसा गर्दै युवाहरूलाई गरेको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन् । 

जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारेका थिए । उनीहरूले आफूहरू सम्पूर्ण रुपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्