काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको दोस्रो दिन (असोज ३०) पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबार (असोज २९)बाट जारी केन्द्रीय कमिटी बैठकमा ओलीलाई पद छाड्न नेताहरूले दबाब दिएका छन् । पार्टीको ११औँ महाधिवेशनको मिति आगामी मंसिर २७–२९ का लागि प्रस्ताव गरेर राजीनामाको विषयलाई मत्थर पार्ने ओलीको दबाबबीच केन्द्रीय सदस्यहरू खुलेका हुन् ।
केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जनतासँग पार्टीलाई जोड्ने कुरामा ओली असफल देखिएको भन्दै राजीनामा माग गरे । “...मूल कुरा त जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ । यो कुरामा अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकोले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोद्धा कमरेडहरूलाई विश्वास गरी अध्यक्ष पदबाट राजीनामा दिएर उहाँहरूलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामूहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भइसकेको छ । यसमा ढिला नगरौँ,” उनले लिखित प्रस्ताव राख्दै भने ।
केन्द्रीय सदस्य रचना खड्काले पार्टीलाई बलियो बनाउन अब ओलीलाई पार्टीको अभिभावक बन्न सुझाएकी छन् । “अहिले मुलुकमा जे भइरहेको छ, जो विकल्प हुँ भन्दै आएका छन्, ती कुनै विकल्प होइनन् । उनीहरू षड्यन्त्रका पात्रमात्र हुन् । एमाले नै नेता पार्टी हो र पार्टीलाई बलियो बनाउन सकिन्छ, अब कमरेड अध्यक्ष पार्टीको अभिभावक बनेर बस्नुपर्छ । यसले कमरेडले पार्टी र देश निर्माणमा गर्नु भएको योगदानलाई जीवित राख्न र पार्टीलाई पुनर्जीवन दिन समेत महत्त्वपूर्ण अर्थ राख्नेछ,” खड्काले बैठकमा भनेकी छन् ।

अर्का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले अध्यक्ष ओलीलाई कडा प्रश्न गरे । पार्टी बनाउने कि सिध्याउने फैसला गर्ने बेला आएको भनाइ शाहको थियो । “पार्टीलाई रिभाइभ गर्ने कि विर्सजन गर्ने ? नेतृत्वले ठोस ऐतिहासिक निर्णय लिन सक्नुुपर्छ,” शाहले बैठकमा भनेका छन्, “त्यसका निम्ति समयले जुन प्रश्न गरिरहेको छ अध्यक्षले त्यागका निम्ति तयार हुनुपर्छ । अध्यक्ष तयार हुने हो भने अरु पनि तयार हुन्छन् ।”
उनले शक्तिको केन्द्रीकरणले पछिल्लो अवस्था उत्पन्न भएको टिप्पणी गरेका थिए । “शक्तिको अतिकेन्द्रीकरण र राज्यसत्ताको चरम राजनीतिकरण गर्नाले आजको अवस्था आएको हो । समयको माग हाम्रा विगतका नीति, निर्णय र नेतृत्वमा पुनर्गठन गरेर अघि जानुपर्छ,” शाहले बैठकमा भनेका छन् । उनले वैदेशिक हस्तक्षेप हुने आधार आफूहरूले नै तयार गरेको टिप्पणी समेत गरेका थिए ।
अर्का केन्द्रीय सदस्य रवि कोइरालाले पार्टी पुनर्गठनका लागि अध्यक्ष ओलीले त्याग गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, केन्द्रीय सदस्य कृष्ण थापाले पनि पार्टी पुनर्गठन हुनुपर्नेमा जोड दिए ।
बैठकमा अर्का सदस्य परशुराम अधिकारीले पार्टीका तल्ला कमिटीका अधिवेशनमा उत्पन्न असन्तुष्टिको वतुनिष्ठ समीक्षा हुनुपर्ने बताए ।
उनको प्रस्ताव थियो, “नेताहरूका बीचमा आलोचना र आत्मालोचनाका लागि छुट्टै बैठक चलाऔँ ।”
केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनमा कहाँ चुक्यौँ भन्ने समीक्षाको माग गरे । नेतृत्वबाटै रुपान्तरण हुनुपर्ने माग उनको थियो । “हामी कहाँ चुक्यौँ ? यो घटना देशीविदेशी प्रपञ्च हो । धुलो टक्टकाएर उठौँ भनेर मात्रै हुँदैन । यसको गम्भीर समीक्षा गरी नेतृत्वदेखि नै रुपान्तरित हुनुपर्छ,” पोखरेलले बैठकमा भने ।

उनले विगतका बैठकभन्दा फरक अवस्था नबनाए समय आफूहरूलाई नपर्खने चेतावनी दिए । “आन्तरिक लोकतन्त्र सुरुआत गर्ने पार्टी हाम्रो हो । हामी धेरै ठाउँमा चुक्यौँ । विगतमा गुटको भर्याङ बनायौँ,” उनले भने, “समयअनुसार रुपान्तरण गर्ने पार्टी हो भन्ने सन्देश यसै बैठकबाट दिनुपर्छ । अरु बैठक जस्तै टालटुल निर्णय गर्यौं भने समयले हामीलाई पर्खदैन ।”
पार्टी पुनर्गठनका विषयमा गणेश खनाल, ममता गिरी, नारायण सिलवाल, झपड रावल, गणेश पहाडी लगायतले पनि धारणा राखेका छन् ।
त्यसो त आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग पनि उठेको छ । बुधबारको बैठकभन्दा आजको बैठकमा अधिकांश नेताहरूले विद्याको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेका हुन् । अध्यक्ष ओलीको राजीनामा माग्ने प्रायः नेताहरूले विद्याको सदस्यता नवीकरण गर्नुपर्ने बताएका छन् । ओलीलाई ठिक भन्ने केन्द्रीय सदस्यहरूले पनि भण्डारीको सदस्यता नवीकरण्को विषय उठाएको नेताहरूले बताएका छन् । त्यससँगै केन्द्रीय सदस्यहरू प्रकाशबहादुर शाह, झपड रावल लगायतका केन्द्रीय सदस्यहरूले भीम रावलसहितका नेतालाई पार्टीमा फर्काएर जिम्मेवारी दिनुपर्ने माग समेत गरेका छन् ।

