site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरीसँग पर्याप्त स्रोतसाधन नभए निर्वाचन प्रभावित हुनेमा सरकार सतर्क छ : गृहमन्त्री अर्याल
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको बताएका छन् । शुक्रबार ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।

अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निसानामा पर्ने संगठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्ब भएको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामान पनि लुटपाट र आगजनी भएको र स्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

"आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाका लागि महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ । प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वाससमेत दिलाउन चाहन्छु ।"

गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए । यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

– न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्