site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यस्तो छ गगनले तयार पारेर पनि केन्द्रीय समितिमा पेस हुन नसकेको महाधिवेशन कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर २७ देखि २९ सम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव लैजाने तयारी गरेका छन् । उनले उक्त मितिमा नियमित महाधिवेशनका लागि दुईवटा प्रस्ताव तयार पारेका छन् । 

उनको पहिलो प्रस्तावमा मंसिर २१ गतेभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको महाधिवेशन सकेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि सिधै केन्द्रीय महाधिवेशन गर्नेछ । दोस्रो प्रस्तावमा भने उनले तल्लो तहका सबै अधिवेशन चरणबद्ध रूपमा सकेर मंसिर २७ देखि २९ गते नै केन्द्रीय महाधिवेशन गर्नेछ ।

थापानिकट स्रोतका अनुसार, यो प्रस्ताव महामन्त्री थापाले बिहीबारको कार्यसम्पादन समिति बैठकमै प्रस्तुत गरेका थिए । तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य सदस्यले मंसिरमा महाधिवेशन सम्भव नहुने भएकाले छलफलबाटै म्याद थप गर्नुपर्ने भन्दै प्रस्ताव पनि सँगै ल्याउन आग्रह गरेका थिए । निकट स्रोतका अनुसार, महामन्त्री थापाले म्याद थपको प्रस्ताव पेस नहुने भन्दै कार्यतालिकाको प्रस्ताव पनि रोकेका हुन् । 

“महामन्त्रीज्यूले कार्यतालिका प्रस्ताव गरेपछि म्याद थप प्रस्ताव पनि ल्याउनुस् भनेर कार्यवाहक सभापति पूर्णबहादुर खड्का र अन्य सदस्यहरूले पनि भन्नुभएछ,” थापानिकट केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “त्यसपछि उहाँले म्याद थप प्रस्ताव कुनै हालतमा ल्याउदिनँ भन्नुभएछ । त्यसपछि बिहीबार नै पेस गर्न तयार पारेको महाधिवेशन तालिका समेत रोक्नुपर्ने अवस्था आयो ।” 

कार्यसम्पादन समिति बैठकमा मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका नेता बलबहादुर केसीले महाधिवेशनेका प्रक्रिया समयमा अघि नबढाउँदा महामन्त्रीहरूको पनि कमजोरी भएको बताएका थिए । उनले पद बेच्ने र संवैधानिक पदहरूलाई बिक्रीको माध्यम बनाउने विकृतिले जेनजी विद्रोह भएको भन्दै कडा प्रतिक्रिया जनाएपछि संस्थापन पक्षका नेताहरू चर्किएका थिए । 

प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रका समस्यामा एउटालाई मात्र दोष लगाउने प्रवृत्तिले नै पार्टीविरुद्धको जनमत निर्माण भइरहेको बताएका थिए । उनले महामन्त्री थापाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सकेर सिधै महाधिवेशन गर्ने प्रस्तावले पार्टीभित्र असन्तुष्टि अझ बढ्ने दाबी गरेका थिए । 

डा. महतले त्यस्तो तर्क गरेपछि महामन्त्री थापाले आफूसँग तल्लो तहका सबै अधिवेशन सम्पन्न गरेर केन्द्रीय महाधिवेशन गर्ने दोस्रो खाका समेत रहेको बताएका थिए ।

“उहाँले मसँग तल्लो तहका सबै अधिवेशन सकेर केन्द्रीय महाधिवेशन गर्ने खाका पनि छ भन्नुभएको थियो । तर, कार्यसम्पादन समितिमा उहाँले लिखित रूपमा कुनै तालिका ल्याउनुभएन,” बैठकमा सहभागी एक पदाधिकारीले बाह्रखरीसँग भने, “उहाँले मंसिर अन्तिम साता भन्नुभएको थियो । बोल्ने क्रममा ढिलोमा पुसको दोस्रो साताको अन्तिमसम्म सबै तहको अधिवेशन सकेर केन्द्रीय महाधिवेशन गर्न सकिन्छ भन्नुभएको हो ।”  

त्यसबेला मिति तोकेरै प्रस्ताव ल्याउन र सम्भव हुने आधार पनि पेस गर्न पदाधिकारीहरूले आग्रह गरेका थिए । “मिति तोकेर कार्यतालिका ल्याउनुस्, कसरी सम्भव हुन्छ भन्ने खाका पनि बनाएर आउनुस् भनेका थियौँ,” ती पदाधिकारीले भने, “तर, उहाँले लिखित प्रस्ताव ल्याउनुभएको छैन ।” 

केन्द्रीय सदस्यहरूले मंसिरमा महाधिवेशन गरेर देखाउन भन्दै चुनौती गरेपछि महामन्त्री थापाले बिहीबारको बैठकमा दोस्रोपटक बोल्ने क्रममा भने केन्द्रीय सदस्यहरूलाई चेतावनी नै दिएका छन् । “तपाईंहरू बहुमतको बलमा केन्द्रीय समितिबाट अधिवेशन रोक्नुहुन्छ भने त्यसको प्रतिवाद हुन्छ,” महामन्त्री थापाले भनेका थिए, “तपाईंहरूसँग केन्द्रीय समितिको बहुमत छ भने हामीसँग पनि महाधिवेशन प्रतिनिधिहरूको बहुमत छ ।”

पार्टीभित्र समझदारी निर्माण नभएपछि महामन्त्री थापा पक्षबाट महधिवेशन कार्यातालिका बैठकमा पेस नै नगरी बाहिरिएको छ ।

यस्तो छ दुईवटा कार्यतालिका प्रस्ताव 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्