काठमाडौं । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक तीन दिन चल्यो । बैठकमा केन्द्रीय सदस्य, पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरे ।
सम्भवतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले ब्युँतिएपछि पहिलोपटक केन्द्रीय कमिटीमा नै ओलीको राजीनामा माग भयो । केन्द्रीय सदस्यहरूले ओलीलाई अभिभावक बनेर बस्न भन्दै हाकाहाकी राजीनामा माग गरे । एमालेका एक केन्द्रीय सदस्य भन्छन्, “लामो समयपछि अध्यक्ष डिफेन्सिभ बन्नुपर्यो ।”
केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले नेतृत्व छाड्न दबाब दिए पनि महाधिवेशनबाटै हल गर्नेमा ओली देखिए । बैठकले आगामी मंसिर २७–२९ गते पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
ओलीले राजीनामा माग्नेहरूलाई आफ्नो काँधमा आएको जिम्मेवारी पुरा नगर्दासम्म पद नछोड्ने जवाफ दिए । “केही साथीले राजीनामा माग्नु भएको छ । मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ,” ओलीले भने, “राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गरौँला, प्रतिननिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्तताका साथ नलगौँ, मित्रतासाथ जाऔँ ।”
शुक्रबार बैठक समापन गरेर निस्कदै गर्दा रातो क्याप लगाएका युवाहरूले ओलीको पक्षमा नारा लगाए । ‘केपी ओली वि लभ यु’को नाराबीच ओली बैठक स्थलबाट बाहिरिए ।
ओलीले आफूले सकेसम्म महाधिवेशनबाट समेत नेतृत्व नछाड्ने सन्देश दिएको नेताहरू बताउँछन् । “बैठकमा थुप्रै केन्द्रीय सदस्यहरूले राजीनामा दिनुस् भन्नुभयो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब युवा नेतृत्व आउँछ भन्नुभएको छ । सचिव योगेश भट्टराई हामीलाई छाडिदिनुस् पार्टी हामी चलाउँछौँ भन्नुभयो । तथापि, अध्यक्षले जिम्मेवारी पूरा नगरी छाड्दिन भन्नुभयो । जिम्मेवारी भनेको महाधिवेशनबाट हो कि होइन भन्ने शंका नै छ । तर अब अध्यक्षलाई सजिलो चाहिँ छैन,” एक केन्द्रीय सदस्यले भने ।

विद्या भण्डारीको सदस्यता टारे, आशा देखाए !
केन्द्रीय समितिको एजेन्डा नभए पनि बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय चर्कियो । भदौ २०–२२ मा चलेको विधान महाधिवेशनमा पनि उठेको भण्डारीको सदस्यता नवीकरणको कुरा यसपटक अधिकांश केन्द्रीय सदस्यहरूले उठाएका थिए ।
पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटी बैठकको निर्णय उल्ट्याउन माग गरे । बैठकमा भण्डारीलाई सदस्यता नदिएर नैसर्गिक अधिकार खोसिएको भन्दै केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए ।
भण्डारीको सदस्यताबारे विगतमाझैँ पहिले आक्रामक सुनिएका ओलीले अन्तिममा भने पार्टी सदस्यता दिने संकेत गरेका छन् ।
ओलीले भण्डारीसँग आफैँ कुरा गर्ने बैठकमा बताएका छन् । “विद्या भण्डारीले मलाई फोन गर्नुभएको थियो, म व्यस्त भएर फोन उठाउन पाइनँ । बैठक सकिएपछि उहाँसँग कुरा गर्नेछु,” ओलीले भने ।
उनले भण्डारीले निवेदन दिए पार्टी सदस्यताबारे निर्णय गर्न सकिने संकेत गरे । “मैले पहिला पनि भनेको हो सदस्यताका लागि निवदेन दिन तर, उहाँले दिनुभएको छैन । दिनुभयो भने निर्णय गर्न सकिन्छ भन्ने कुरा अध्यक्षले राख्नुभयो । यसले आशा जन्माएको छ,” भण्डारीनिकट नेताले भने ।
प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव ?
फागुन २१ मा घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेमा एमालेले स्पष्ट बोलेको छैन । बैठकले पारित गरेको समसामयिक प्रस्तावमा सरकारले चुनाव गराउन नसक्ने भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिएको छ ।
“निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने हुनाले नेकपा (एमाले) केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने माग गर्दछ र त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्दछ,” प्रस्तावमा उल्लेख छ ।
बैठकमा संसद् पुनर्स्थापनाको माग पनि गर्ने र चुनावको तयारी गर्ने पक्षमा उभिनुपर्ने मत आएको थियो । तर, ओलीले बैठक समापन गर्दा सरकारले चुनाव नै गराउन नसक्ने बताएका थिए । ओलीले नहुने चुनावमा किन जाने भनेपपछि उपाध्यक्ष युवराज ज्ञवालीले लिखित असहमति राखे । अर्का उपाध्यक्ष शाक्यले समर्थन जनाइन् । उनीहरूले चुनावमा जाने विकल्प राख्नुपर्ने धारणा राखेका थिए ।
प्रचारविभाग प्रमुख राजेन्द्र गौतम एमाले चुनावभन्दा पर नरहेको दाबी गर्छन् । संसद् पुनर्स्थापना भए मात्रै जेनजीहरूको माग सम्बोधन गर्दै अघि बढ्न सकिने निष्कर्षमा पुगिएको उनले बताए ।
