काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आमनागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
शनिबार (कात्तिक १) राष्ट्रपति भवन शीतलनिवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन पनि निर्देशन दिएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले गएको भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे ।
अन्तरिम प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइन् । पूर्ण तयारीसाथ लाग्न भन्दै उनले सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधनस्रोत सरकारले उपलब्ध गराउने उल्लेख गरिन् ।
सुरक्षा निकायका प्रमुखले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाएका थिए । उनीहरूले योभन्दा कठिन परिस्थितिमा पनि विगतमा शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराए । सुरक्षा निकाय सम्पूर्ण रूपले निर्वाचनका निम्ति तयार रहेको उनीहरूले बताएका थिए ।
छलफलमा प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरू, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो । न्युज एजेन्सी नेपाल