site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा भीषण आगलागी

काठमाडौं । बंगलादेशको मुख्य ढाका अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार भीषण आगलागी भएको छ । आगलागीसँगै त्यहाँबाट सबै उडान/अवतरण स्थगन गरिएको छ ।

विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेको भए पनि धावनमार्गमा बाक्लो कालो धुवाँको मुस्लो फैलिएको एएफपीले जनाएको छ ।

आगलागी नियन्त्रण गर्न ३७ दमकल परिचालन गरिएको अग्निनियन्त्रण सेवाका प्रवक्ता तल्हा बिन जासिमले जनाएका छन् । दिउँसो लागेको आगो नियन्त्रण गर्न पछि सुरक्षा बलबाट पनि थप सहयोग मागिएको थियो ।

अग्निनियन्त्रकले आगलागी नियन्त्रण गरिरहेकाले विमानस्थलले केही घण्टाभित्रै सेवा सञ्चालन पुनः सुरु गर्ने अपेक्षा गरिएको छ ।

आगलागीका क्रममा कम्तीमा चारजनालाई सामान्य चोट लागेपछि अस्पताल लगिएको स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल अहसनले बताए । आगलागीको कारण तत्काल खुलेको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्