site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाभरि ट्रम्पविरोधी ‘नो किङ्स’ प्रदर्शन
तस्बिर : रोयटर्स ।

काठमाडौं । अमेरिकाका थुप्रै सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकार, शिक्षा र सुरक्षा नीतिको विरोधस्वरूप ‘नो किङ्स’ (राजा चाहिँदैन) आन्दोलनका प्रदर्शनकारी भेला भएका छन् ।

प्रदर्शन आयोजना गर्ने पक्षले देशभरि दुई हजार ६०० भन्दा बढी कार्यक्रम हुने अपेक्षा गरेको अलजजिराले जनाएको छ ।

‘विरोध गर्नु नै ठूलो देशभक्ति हो’, ‘फाँसीवादको प्रतिरोध गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शनिबार धेरै स्थानमा र्‍याली गरिएको थियो । र्‍यालीका कारण सडकहरू उत्सवजस्तै देखिएको थियो ।

ट्रम्प ह्वाइट हाउस फर्किएपछि यो तेस्रो ठूलो प्रदर्शन हो । यो प्रदर्शन हालको सरकारी ‘सटडाउन’को पृष्ठभूमिमा भइरहेको छ । ‘सटडाउन’ले संघीय कार्यक्रम र सेवा मात्र बन्द नभएर संसद् र अदालतको संस्थागत स्वतन्त्रतामाथि खतरा बढेको चेतावनी पनि दिएको छ ।

प्रदर्शनकारी न्युयोर्कको टाइम्स स्क्वायर, बोस्टन कमन, शिकागोको ग्रान्ट पार्क र सयौँ साना सार्वजनिकस्थलमा जम्मा भएका थिए ।

अमेरिकाबाहिर पनि र्‍याली आयोजना गरिएको थियो । लन्डनस्थित अमेरिकी दूतावासबाहिर २०० भन्दा बढी प्रदर्शनकारी भेला भए । म्याड्रिड र बार्सिलोनामा पनि सयौँले सहभागिता जनाएका थिए ।

ट्रम्प आफैँ फ्लोरिडास्थित मार–ए–लागोमा बस्दै आएका छन् । शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, “उनीहरूले मलाई राजा भन्दै छन्, तर म राजा होइन ।”

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्