काठमाडौं । केही दिनसम्म चलेको घातक सीमापार झडपपछि पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । कतारको विदेश मन्त्रालयले आइतबार यो सहमति भएको घोषणा गरेको हो ।
यो घोषणा यसअघिको युद्धविरामपछि पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० जना मारिएपश्चात् गरिएको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “वार्ताका क्रममा दुई पक्ष तत्काल युद्धविराम र दुई देशबीच स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न सहमत भएका छन् ।”
तनाव कम गर्न दुवै पक्षका अधिकारीबीच शनिबार दोहामा भेटवार्ता भएको थियो ।
काबुलले यसअघि इस्लामाबादमाथि ४८ घण्टे युद्धविराम भंग गरेको आरोप लगाएको थियो । उक्त अवधिमा दुवै पक्षका दर्जनौँ सैनिक र नागरिकको ज्यान लिने गरी भएको करिब एक हप्ताको लडाइँलाई छोटो समयका निम्ति रोकिएको थियो ।
पाकिस्तानका सुरक्षा अधिकारीले अफगान सीमा क्षेत्रमा गरिएको पछिल्लो हमला पाकिस्तानी तालिबानसँग जोडिएको एउटा उग्रवादी समूहलक्षित रहेको बताए । यो आक्रमण पाकिस्तानी अर्धसैनिक बलमाथि गरिएको हमलाको प्रतिक्रिया रहेको उनीहरूको भनाइ छ ।
तालिबानका अनुसार, दोहामा पाकिस्तानको प्रतिनिधिमण्डलमा रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल आसिम मलिक संलग्न थिए । अफगान पक्षको नेतृत्व रक्षामन्त्री मोहम्मद याकूबले गरेका थिए ।
दुई देशबीच अक्टोबर ११ मा सीमामा हिंसा भड्किएको थियो । तालिबानका विदेशमन्त्री अमिर मुत्ताकीले भारतको दुर्लभ भ्रमण गरेको केही दिनपछि नै काबुलमा विस्फोट भएका थिए ।
त्यसलगत्तै तालिबान लडाकुले पाकिस्तानसँगको दक्षिणी सिमानामा हमला सुरु गरेका थिए । त्यसपछि पाकिस्तानले जवाफी कारबाही गरेको थियो । टाइम्स अफ इन्डियाबाट ।