काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जेनजी आन्दोलनपछि राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि गरेको सिफारिसबारे खुलासा गरेका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलमा ओलीले आफूले सुशीला कार्की वा कुनै पनि व्यक्तिको नाम तोकेर प्रधानमन्त्रीका लागि सिफारिस नगरेको स्पष्ट पारेका हुन् ।
त्यस क्रममा उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री बनेको प्रमाण आफूसँग रहेको बताएकोबारे बोले ।
“एकजनाले सुशीला कार्कीलाई प्रधानमन्त्री सिफारिस गर्ने केपी ओली हो, मसँग प्रमाण छ भन्दै हुंकार गरेको देखेँ, केही प्रमाण छैन, छ भने देखाए हुन्छ,” ओलीले भने, “कसैको सिफारिस बिनाराष्ट्रपतिले ‘केयर टेकर’ गभर्मेन्टको प्रधानमन्त्री राष्ट्रपतिले नियुक्त गर्न सक्नुहुन्न । बिनासिफारिस केही गर्नु सेरेमोनियल राष्ट्रपतिका लागि वाञ्छनीय हुन्न । मैले सिफारिस गरिदिनु वाञ्छनीय भएर सिफारिस गरेको हुँ ।”
उनले अगाडि भने, “मेरो सिफारिसको भाषा के छ भने– वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी शान्तिपूर्ण परिस्थितिमा फर्काउने आवश्यक भएकाले, यस्तो अवस्थामा समाधान संविधान र लोकतन्त्रभित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले वर्तमान परिस्थितिलाई शान्तिपूर्ण लोकतन्त्रमा फर्काउनुपर्ने भएकाले सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक हुनुभएकाले संविधान भित्रबाट समाधान निकाल्न केयर टेकर सरकार बनाउन सिफारिस गर्दछु...।”
उनले संसद् विघटन नभएको भए संविधानको धारा ७६ को ७ पछि अर्को उपधारा थपेर संसद् बाहिरबाट सरकार बन्ने बाटो खुल्न सक्ने बताए । उनले संवैधानिक समाधान खोज्नुको साटो संसद्ले नचिन्ने व्यक्तिबाट संसद् विघटन भएको विषय असंवैधानिक भएकाले आफूले असंवैधानिक भनेर टिप्पणी गरेको बताए ।
“त्यस्तो हुँदा मैले विवेक दराजमा थन्क्याएर बस्नुपर्ने, असंवैधानिक हो भनेर भन्नु नहुने ?,” ओलीले प्रश्न गरे ।
उनले कसैका इच्छा पूरा गर्न आफू नलाग्ने पनि बताए । “म गुन्डुमा बसेको छु, साँगा काटेर नजा भन्ने आदेश छ रे ! मकहाँ आइपुगेको छैन । म माथिल्लो डाँडामा पुगेर तलतिर हेर्न पाउने नपाउने सोधेको छैन,” ओलीले भने, “यस्तो इच्छा राख्नेहरूलाई खुसी पार्न मैले अँध्यारो मुख लाइदिनुपर्ने ?”