काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नहुने निर्वाचन बहिष्कार कसरी हुन्छ भन्दै प्रश्न गरेका छन् । आइतबार सम्पादकसँगको छलफलमा ओलीले दलका नेतालाई थुन्ने, चुनावमा भाग लिन नदिने अभिव्यक्ति दिएर चुनाव गर्न नखोजिएको दाबी गरे ।
“सबै अवस्थामा निर्वाचनको ड्रामा पनि स्वीकार गर्ने । अनधिकृत, असंवैधानिक कुरा पनि स्वीकार गर्ने भन्ने कुरा अलिक हुँदैन,” ओलीले भने ।
उनले आफूलाई चुनाव प्यारो भएको बताए । “यो निर्वाचन पद्दति बचाउनका लागि ६० वर्ष लडाइँ गरेको छु । मलाई प्यारो छैन निर्वाचन ? निर्वाचनबाट छानिने सरकार ? अवश्य प्यारो छ,” ओलीले भने ।
उनले एमालेले चुनाव बहिष्कार गरेको हल्ला चलाइएको भन्दै आपत्ति जनाए । “हल्ला चलाइएको छ । एमालेले निर्वाचन अस्वीकार गर्यो । नगराउने निर्वाचन बहिष्कार कसरी हुन्छ ? गराउँदैन निर्वाचन भनेको छु । नहुने निर्वाचन कसरी बहिष्कार गर्ने ?,” ओलीले सोधे ।