site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले जेलेन्स्कीलाई भने– पुटिनका सर्तहरू मान्नुस्, नत्र युक्रेन ध्वस्त हुनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँगको युद्ध समाप्त गर्न पुटिनका सर्त स्वीकार गर्न आग्रह गरेका छन् । पुटिनका सर्त स्वीकार नगरे युक्रेनले विनाशको सामना गर्नुपर्ने हुनसक्ने ट्रम्पले बताएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

ह्वाइट हाउसमा गएको शुक्रबार भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई सम्पूर्ण डोनबास क्षेत्र रुसलाई सुम्पिन दबाब दिएका थिए । यस क्रममा उनले पुटिनका कुराहरू दोहोर्‍याएका थिए, जससँग उनले एक दिनअघि फोनमा कुरा गरेका थिए । तर, जेलेन्स्कीले अन्ततः ट्रम्पलाई यो युद्धलाई रोक्नु नै उत्तम विकल्प हो भन्ने कुरामा सहमत गराएका थिए ।

बैठकपछि ट्रम्पले दुवै पक्षले युद्ध यहीँ रोक्नुपर्ने बताएका थिए ।  यसमा जेलेन्स्कीले पनि सहमति जनाएका थिए । 

पुटिनले ट्रम्पसँग बिहीबार भएको कुराकानीमा युक्रेनलाई खेरसोन र जापोरिझियाका केही साना भागहरूको बदलामा डोनबासको ठूलो इलाका रुसलाई दिन प्रस्ताव गरेका थिए ।
 
युक्रेन युद्धमा शान्तिको दिशामा अगाडि बढ्नका लागि ट्रम्प र पुटिन दुई हप्ताभित्र बुडापेस्टमा अर्को शिखर वार्ता गर्ने सम्भावना छ ।

जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनविरुद्ध थप कडा अडान अपनाउन आग्रह गरेका छन् । युक्रेनी राष्ट्रपतिले बुडापेस्टमा हुने अर्को शान्ति सम्मेलनमा भाग लिन आफू तयार रहेको बताएका छन् ।

एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पले पुटिनमाथि अझ बढी दबाब दिन आवश्यक रहेको बताएका थिए । ट्रम्पले हमाससँग युद्धविराम गराउन दिएको अडानजस्तै रूससँग पनि कडा दबाब दिनुपर्ने बताएका थिए । 

जेलेन्स्कीले भने, “पुटिन पनि केही हदसम्म हमासजस्तै हुन्, तर हमासभन्दा बढी शक्तिशाली छन्, त्यसैले उनीमाथि अझ बढी दबाब दिन आवश्यक छ ।”

उनले रूससँग विश्वको दोस्रो सबैभन्दा ठूलो सेना रहेकाले अमेरिकाले अझ दृढताका साथ प्रस्तुत हुनुपर्ने बताए ।

ट्रम्पले युक्रेनमा युद्ध समाप्त गर्ने उद्देश्यले दोस्रो चरणको वार्ताका लागि बुडापेस्टमा पुटिनसँग भेट्ने घोषणा गरेका छन् । फाइनानसियल टाइम्स

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्