भक्तपुर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मंसिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् ।
हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवशनको मिति निर्धारण गरिएको उल्लेख गरे ।
“बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्ताहरूमा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ,” उनले भने । रासस