site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले भने– छठपछि वामपन्थी एकता हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वपछि वामपन्थी एकता हुने बताएका छन् । बुधबार (कात्तिक ५) बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल एकता प्रक्रियामा अग्रसर रहेका उनले उल्लेख गरे । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उनले जिकिर गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर चुनावको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । मंगलबार (कात्तिक ४) राजनीतिक दलसँग सरकारले वार्ता गरेको र बिस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभास भएको उनले बताए ।

‘जेनजी’ आन्दोलनपछि मधेस प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पार्टी माओवादी केन्द्र रहेको उनको भनाइ थियो ।

प्रचण्डको भनाइ पढ्नोस्–
निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ । हिजो मात्रै संसदीय दलहरूसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार बिस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभास त मिल्छ, तर यति बेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो । जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने पनि हामी नै भयौँ । काठमाडौं उपत्यकाबाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । निर्वाचनको वातावरण बन्नुपर्छ । वामपन्थी एकता र ध्रुवीकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ । छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्