site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको प्रतिबन्धपछि पुटिनले भने– आत्मसम्मान भएका देशहरू दबाबमा झुक्दैनन्

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आत्मसम्मान भएका देशहरू दबाबमा नझुक्ने बताएका छन् । अमेरिकाले रूसलाई युद्धमा मिलिरहेको फन्डिङमा रोक लगाउने उद्देश्यले रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलमाथि बुधबार प्रतिबन्ध लगाएपछि रुसको यस्तो प्रतिक्रिया आएको हो । 

पुटिनले यसमाथि अमेरिकाका प्रतिबन्धहरू दबाब बनाउने प्रयास र मित्रताको विरुद्धमा आएको बताएका छन् । उनले यी प्रतिबन्धहरूले रूस र अमेरिकाको सम्बन्धलाई थप खराब बनाउने बताएका छन् । 

यद्यपि, पुटिनले यी प्रतिबन्धहरूले रूसको अर्थतन्त्रलाई नोक्सान नपुर्‍याउने भन्दै कुनै पनि आत्मसम्मान भएको देश दबाबमा नझुक्ने प्रष्ट पारेका छन् । रुसी राष्ट्रपतिले उनी अमेरिकासँग छलफल गर्न चाहेको र वार्ता युद्धभन्दा राम्रो भएको बताए ।

पुटिनले रूसी तेलको आपूर्ति कम हुँदा तेलको मूल्य बढ्ने भन्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसबारेमा कुरा गरेका पनि उल्लेख गरे । पुटिनले रूसको तेल कम हुँदा रूसलाई मात्र होइन, अमेरिका र सम्पूर्ण विश्वमा तेल महँगो हुनसक्ने चेतावनी दिए ।

यसैबीच, अमेरिकी ट्रेजरी विभागले रूस युद्ध रोक्नका लागि गम्भीर नभएकाले यी प्रतिबन्धहरू लगाइएको बताएको छ । यो निर्णयले अमेरिकाको अधिकार क्षेत्रमा आउने यी कम्पनीहरूको सबै सम्पत्ति र हितहरूलाई प्रभावकारी रूपमा ब्लक गरिदिएको छ ।

रोसनेफ्ट एउटा सरकारी कम्पनी हो जसले तेलको खोज, रिफाइनिङ र वैश्विक बिक्रीमा विशेषज्ञता राख्छ । लुकोइल एउटा निजी स्वामित्व भएको बहुराष्ट्रिय कम्पनी हो जसले रूस र विदेश दुवै ठाउँमा तेल र ग्यासको खोज, रिफाइनिङ, मार्केटिङ र वितरणमा काम गर्छ ।

यी दुवै कम्पनीको ५० प्रतिशत वा त्योभन्दा बढीको सीधा वा अप्रत्यक्ष हिस्सेदारी भएका सबै सहायक कम्पनीहरूमाथि पनि प्रतिबन्ध लागु हुन्छ । अलजजिरा 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्