site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भेनेजुएलाको सीमामा किन देखिए अमेरिकी बी–१ बमवर्षक विमान ?

काठमाडौं । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका बीच अमेरिकी सैन्य विमानहरू क्यारिबियन सागर र भेनेजुएलाको तटनजिक उडान भरिरहेका छन् । अमेरिकी सेनाले त्यस क्षेत्रमा एक जोडी सुपरसोनिक र भारी बमवर्षक विमान पठाएको छ ।

यो उडान त्यही क्षेत्रमा केही दिनअघि अमेरिकी बमवर्षकहरूले गरिएको प्रशिक्षण अभ्यासको एक अंशका रूपमा आक्रमणको सिमुलेसन (नक्कल) गर्ने उडानपछि आएको बताइएको छ ।

फ्लाइट ट्र्याकिङ डेटाका अनुसार, हालै उडान भरेका बमवर्षकहरू बी–१ ल्यान्सर थिए । जो टेक्सासस्थित डीएस एयर फोर्स बेसबाट उडेका र क्यारिबियन हुँदै भेनेजुएलाको तटसम्म पुगेका थिए ।

रक्षा स्रोतका अनुसार, यो एउटा प्रशिक्षण उडान थियो । बी–१ बमवर्षकहरू अमेरिकी सेनाका ती विमानहरू हुन्, जसले सबैभन्दा धेरै बम बोक्न सक्छन् । यसअघि, यस क्षेत्रमा बी–५२ स्ट्राटोफोट्र्रेस बम वर्षकहरूको पनि उडान गरिएको थियो । ती उडानहरूमा मरिन कर्प्सका एफ–३५बी स्टेल्थ फाइटर जेट पनि सहभागी थिए ।

अमेरिकी सेनाले क्यारिबियन र भेनेजुएलाको तटनजिक असामान्यरूपमा ठूलो संख्यामा सैनिक र जहाज तैनाथ गरेको छ ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको शासनलाई समस्यामा पार्ने सम्भावनाका बाबजुद पनि विभिन्न टिप्पणी गरेका छन् । मादुरोमाथि अमेरिकामा लागुपदार्थ र आतंकसम्बन्धी आरोप दर्ता छन् ।

अमेरिकी नौसैनिक तथा हवाई प्रशासन अनुसार सेप्टेम्बर सुरु भएयता अमेरिकाले भेनेजुएलाको तट नजिकका डुंगाहरूमा लक्षित आक्रमणहरू बढाएको छ । जुन क्रियाकलाप ट्रम्प प्रशासनले लागुपदार्थ तस्करीविरुद्धको अभियान भनेको छ । रक्षा अधिकारीहरूको भनाइअनुसार ती अभियानहरूमा अहिलेसम्म कम्तीमा ३७ जनाको मृत्यु भइसकेको छ ।

हालैका केही हमलाहरूमा मानिसहरू मारिएका हुन् । पेन्टागनका अधिकारी तथा रक्षामन्त्री पिट हेगसेथले नवौँ हवाई हमलामा तीन जनाको मृत्यु भएको बताएका छन् । जबकि, अघिल्लो हमलामा दुई जनाको मृत्यु भएको थियो ।

ट्रम्पले दिए ठूलो हमलाको संकेत
अमेरिकाले बी–१ बमवर्षकको उडान र भेनेजुएलामा सैन्य दबाब बढाएको सम्बन्धमा प्रश्न गर्दा ट्रम्पले यसलाई झुटो भनेका छन् । उनले भने, “हामी भेनेजुएलाबाट धेरै कुरामा खुसी छैनौँ र लागुपदार्थ तीमध्ये एक हो ।”

ट्रम्पले अमेरिकासँग डुंगाहरूमा हमला गर्न कानुनी अधिकार रहेको र आवश्यक परे जमिनमा पनि त्यस्ता कार्य गर्न सकिने बताएका छन् ।

उनले थपे, “जब उनीहरू जमीनबाट आउनेछन्, तब हामी उनीहरूमाथि धेरै कडा प्रहार गर्नेछौँ । हामी पूर्णरूपमा तयार छौँ । सम्भवतः पछि हामीले जे गर्‍यौँ सो कुराको बारेमा कंग्रेस (संसद्) लाई जानकारी दिनेछौँ ।”

टाइम्स अफ इन्डियाबाट ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्