नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनर्स्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् ।
शनिबार (कात्तिक ८) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै संसद् पुनर्स्थापनाको एजेन्डा पार्टीले नछोडेको बताए ।
उनले ‘जेनजी’ युवापुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनर्स्थापना आवश्यक रहेको जिकिर गरे । उनले प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका निम्ति सुरक्षा चुनौती रहेको धारणा राखे ।
“फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनर्स्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ,” उनले भने ।
उनले पार्टीको महाधिवेशन तोकिइसकेकाले अब नेतृत्वको विषय त्यहीँबाट टुंगो लगाइने बताए । रासस